
काठमाडौं ,२ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।
“मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ”, बासीले भनिन्, “यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ । त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।”
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।
“कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रबार पनि देशभरि निरन्तरता पाउनेछ ।
पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी प¥यो । महाशाखाका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १२.४ मिलिलिटर मात्र पानी परेको छ ।
सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन् ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।
डोटीमा पहिरोमा पुरिएका एक जनाको ज्यान गयो, दुई घाइते
डोटीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षका खडकबहादुर बमको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाउँका धारापानीमा खानेपानी बन्द भएपछि मर्मतका लागि मुहानमा गएका बेला उहाँलाई पहिरोले पुरेको हो । बमसँगै गएका १३ वर्षकी पुनी कुँवर र १६ वर्षकी पुजा कुँवर घाइते भएका छन् । उनीहरुको उपचारको लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।
नारायणी नदी इतिहासकै उच्च विन्दुमा
नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १० बजेर ५० मिनेट जाँदा १० दशमलव ४६ मिटर पुगेको हो । त्यस समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।
नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो । उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । त्यही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । त्यस विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए ।
रायले भन्नुभयो, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।” यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उनले जानकारी दिए ।
सन् १९६३ देखि अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार चार सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।