कविता – कुर्सी मोह

-ओम खनाल
कुर्सी प्यारो अझकति छ है हेर कस्तो लडाई
छाड्नै कस्तो कठिन भइगो हेर तिन्को रुवाई
मुठ्ठी पारी छलबलगरी राख्नु पर्ने समाई
खोस्नै आए अझबलगरी हान्छु मुड्की बजाई ।।१।।
धेरै लामो कसरत गरे ताक्न कुर्सी त यिनले
गर्नै दिन्नन् सबकामहरु राख्नु अड्को त जहिले
मेरा साथी परपरभए गूठ अर्कै लिएर
कुर्सी खोसे सहनु कसरी हुन्छ मेरो बिजोक।।२।।
के को हो यो विवाद गर्ने मिल्नु पर्ने डटेर
मर्दैछन् है निरिह जनता रोग यो नै बडेर
चिन्ता केही मनपटलमा छैन यिनको रत्ती नै
सत्ताधारी अझ बनिरही बस्नु पर्ने सधै नै ।।३।।
कस्ता मान्छै हृदय पटमा राख्नु पर्ने बिवेक
त्यागी स्वार्थै सवैजनामिली गर्नु पर्ने सहयोग
रोगै आयो दिनदिन सधै छैन रोक्ने उपाय
हेर्दै छौ है अतिहुन गयो द्वन्द्व गर्छन् जुधेर ।।४।।
कस्तो हो यो अमर चाहना आज नै चाहिने हो
कामै गर्दा पछि पछि सधै मिल्न गै पाइने हो
मिल्दा खेरी सबतिर छ है काम गर्ने चुनौती
छिट्टै गर्दा सवै खुसी हुने मिल्नु पर्ने समेटी ।।५।।
धेरै जन्ता मरिपनि सके हेर तिनको बिजोक
बस्छन् हेर्दै टुलुटुलु सधै मोह कुर्सी लिएर
छाडी स्वार्थै अब पनि सबै एक बन्छौ जुटेर
देशै राम्रो हितकर सधै बन्छ हाम्रो मिलेर ।।६।।


छन्द :मन्दाक्रान्त
दमक -८ झापा

Leave a Reply

Your email address will not be published.