झापा , १० जेठ । पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा १७० जना कोरोना संक्रमित थपिएका छन् ।जसमा ६४ जना महिला छन् ।संक्रमितमध्ये पीसीआर परीक्षणबाट १२४ र एन्टिजेनतर्फ ४६ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बुद्धशान्ति गाउँपालिकामा १७ महिलासहित ४६ जना रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा १३ महिलासहित २६ जना, मेचीनगरमा १ महिलासहित १५ जना, अर्जुनधारामा ३ महिलासहित १२ जना, कनकाईमा ४ महिलासहित १२ जना गौरादहमा ६ महिलासहित १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, कचनकवलमा ४ महिलासहित १३ जना, भद्रपुरमा ५ महिलासहित १० जना, शिवसताक्षीमा ५ महिलासहित ८ जना, झापामा २ महिलासहित ७ जना, कमलमा २ महिला, बाह्रदशीमा १ महिलासहित ३ जना, हल्दिबारीमा १ महिला, दमकमा २ महिला र ठेगाना नखुलेकी एक महिलामा पनि संक्रमण भएको छ ।
झापामा कुल संक्रमितको संख्या ९ हजार ३०६ पुग्यो
योसँगै झापामा कुल संक्रमित संख्या ९ हजार ३०६ रहेको छ भने निको भएर घर फर्किनेको संख्या ५ हजार ३५६ पुगेको छ । सोमबार ८१ जना निको भएर घर फर्किएका छन् ।
झापाका चारजना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा झापाका चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मेचीनगरका दुई तथा बिर्तामोड र भद्रपुरका एक–एक जना रहेका छन् । बिर्तामोड ८ का ८५ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २३ पुगेको छ ।
त्यस्तै मेची अस्पतालमा दुईजनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं २ का ७७ वर्षिय पुरुषको उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको सूचना अधिकारी मनोज पोखरेलले बताए । तर , उनको पिसिआर रिपोर्ट जेठ ७ गते नेगेटिभ आइसकेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । त्यस्तै मेचीमा फिदिम ३ बस्ने ३१ वर्षिया महिलाको पनि मृत्यु भएको छ । फिदिममा अस्थायी ठेगाना भएपनि उनको माइत र स्थायी ठेगाना मेचीनगर ११ भएको चौलागाईले जानकारी दिए ।
त्यस्तै मेचीनगर–१४ स्थित कलमवारीका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालका अनुसार ४२ वर्षीय उनको आज बिहान १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यस्तै भद्रपुर ४ का एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५१ वर्षिय पराजुली थरका व्यक्तिको हिजो बेलुका विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २११ पुगेको छ ।