
गौरादहमा निकालिएको मसाल जुलुस
गौरादह , ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध गौरादहमा नेविसंघले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी सङ्घ गौरादह नगर समितिको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको विरोध गर्दै आज साँझ मसाल जुलुस प्रदर्शन गरेको हो ।
स्वतःस्फूर्त रूपमा बजारको मध्य भागबाट निस्किएको मसाल जुलुस सहितको र्यालीमा विद्यार्थीहरूले गैर संवैधानिक कदम विरुद्ध नाराबाजी समेत गरेका थिए ।
जुलुस पश्चात् विरोध प्रदर्शन स्वरूप गौरादहको डिपुचोकमा विरोध जनाउँदै विद्यार्थीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
कोरोना महामारीको विषम परिस्थितिमा मानव स्वास्थ्यको सुरक्षाको ग्यारेन्टी गर्नुको सट्टा ओलीको सरकार जोगाउन राष्ट्रपति कार्यालयको गरिमा समेत भुलेर विद्या भण्डारी लागेको ठहर गर्दै बिद्यार्थीहरुले संविधानको रक्षार्थ शक्ति प्रदर्शन गरेका हुन ।
नेविसंघ नगर सभापति बाबुराम नेपालको नेतृत्वमा निकालिएको विरोध जुलुसमा केपी ओली र विद्या भण्डारीको सेटिङमा मध्यरातमा भङ्ग गरिएको संसद विघटनको खारेजको माग गर्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए । विद्यार्थीको विरोध प्रदर्शनलाई इलाका प्रहरी कार्यालय गौरादहको टोलीले डिपुचोकमा हस्तक्षेप गरेको थियो ।
नेविसंघको विर्तामोडमा विरोध प्रर्दशन
प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले आज साँझ झापामा राँके जुलुश निकालेको छ । नेविसंघ जिल्ला समिति झापा र नगर समिति बिर्तामोडको आयोजनामा बिर्तामोडमा राँके जुलुश निकालिएको हो ।
कोरोना संक्रमणका कारण सामाजिक दुरी कायम गर्दै १० जनाले मात्र जुलुश निकालेको जिल्ला नेता याम भुजेलले जानकारी दिए । त्यस्तै नेविसंघ बाह्रदशीले पनि आज साँझ राँके जुलुश निकालेको थियो। राजगढ बजार पेरिफेरिमा जुलुस निकाल्दै कोणसभा गरिएको थियो ।कोणसभालाई नेविसघ सभापति मिलन बस्नेत लगायतले बोलेका थिए ।