
दमक,९ जेठ । विघटित संघीय संसद सदस्य एवं कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बूले झापा क्षेत्र नं ५ का कोरोना संक्रमितहरुलाई अस्पतालसम्म लैजाने–ल्याउने प्रयोजनका लागि निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेकी छिन् ।
नेतृ लिम्बूले आफना पिता प्रजातन्त्रका सेनानी स्व. मुगाधन राई र कृष्णकुमारीको स्मृतिमा स्थापना गरेको मुगाधन -कृष्णकुमारी स्मृति प्रतिष्ठानद्धारा सञ्चालित एम्बुलेन्सको निशुल्क प्रयोगको घोषणा गरेकी हुन्।
आफू छातीमा समस्याका कारण अस्वस्थ्य रहेकाले काठमाडौंमा नै उपचाररत रहेकी नेतृ लिम्बुले सञ्चारकर्मीहरुसंग कुरा गर्दै कोरोना महामारीबाट जोगिनुनै अहिलेको निर्विकल्प उपाय भएको पनि बताएकी छिन् । आफूले विगतमा यस क्षेत्रमा चुनावमा प्रत्यक्ष उम्मेदवार हुँदा झापा क्षेत्र नं ५ का सर्वसाधारण नागरिकहरुले देखाएको माया र सदभावको स्मरण गर्दै यो संकटको घडीमा थोरै भएपनि आफना माता पिताको स्मृतिमा सहयोग गर्न पाउनु आफना लागि सन्तुष्टिको बिषय भएको उनको भनाई छ ।।
प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी पूर्व सांसद लिम्बुले सबै क्षेत्र, पेशा तथा व्यवसाय ठप्प रहेको र सबै कोरोनाको महामारीसंग जुधिरहेको बेला कुनै पनि नागरिक अस्पताल पुग्न नपाएर मृत्युको मुखमा पर्न नपरोस् भनेर आफ्नो तर्फबाट निशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको बताइन् । उनले एम्बलेन्सको सेवा लिन कांग्रेसका क्षेत्रीय सभापति,नगर ,पालिकाका सभापति तथा प्रतिष्ठानका सदस्यहरुसंग प्रत्यक्ष सम्पर्क गरि एम्बुलेन्सको सुविधा लिन समेत अनुरोध गरिन् ।