
विराटनगर,२५ बैशाख । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ‘रेमडेसिभिर’ इन्जेक्सन नक्कली बनाएर बिक्री वितरण गर्ने यहाँका दुई जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नोबेल मेडिकल कलेज विराटनगर अगाडी सञ्चालनमा रहेको साथी फार्मेसीका सोनु आलम र कामदार श्रवण यादवलाई नक्कली इन्जेक्सनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर महंगो मूल्यमा नक्कली रेमडिसिभिरको कारोबार गर्ने गरेकोप्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
स्टासेफ इन्जेक्सनमा नयाँ लेबल लगाएर रेमडिशिविर भन्दै विरामीलाई बिक्री वितरण गरेको सूचनाका आधारमा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीकोे टोली र मोरङ प्रहरीले उनालई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेमडेसिबर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुलाई फार्मेशीदेखि पक्राउ गरेको थियो ।
मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले नक्कली इन्जेक्सन बिक्री वितरण गरेको सूचना बाहिरिएपछि छापा हानेर पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले साथी फार्मेसीका सञ्चालक कामदार बाहेक अन्यलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
नक्कली रेमडिसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेमडिसिभिर भन्दै चर्को मूल्यमा विक्री गरिआएको अनुसन्धानका क्रममा खुलेको उनले वताए ।
स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नयाँ नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै विक्री गर्दै हिडने गरेको उनको दावी छ । औषधी क्षेत्रका गिरोहले नक्कली स्टिगर र लेबल बनाएर स्टासेफ इन्जेक्सनको बट्टामा रेमडिसिभिरको लेबल लगाएर ७ हजारदेखि २० हजार रूपैयाँसम्ममा कोभिड अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीका आफन्तहरूलाई विक्री गर्दै आएका छन् । यसरी अहिले विराटनगरमा नक्कली रेमडिशिविर विक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेका छन् । उनीहरूको सम्पर्कमा आउने विरामीलाई नक्कली रेमडिशिभिर चर्को मूल्य असुली गरेर विक्री गर्दछन् ।
पक्राउ परेका फार्मेशी संचालक आलमले कति मूल्य नक्कली रेमडिशिभिर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । स्रोतको अनुसार आमल यसअघि फार्मेशीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेशीमा काम सिकेपछि केही वर्षअगाडीदेखि उनले आफै नोबेल अगाडी औषधी पसल खुलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रक्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।