दमक,१९ बैशाख । मेचीनगर नगरपालिका वडा नं . ६ मा रहेको किराँत समुदायको समाधिस्थलमा डोजर चलाएको घट्ना प्रति किराँत समुदाय आन्दोलित भएका छन् ।
शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्न भन्दै नगरपालिकाको निर्देशनमा त्यहाँको समाधिस्थलमा गत बिहिबार डोजर लगाएर भत्काइएको घट्ना प्रति जिल्लाका किराँत समुदाय आन्दोलित भएका हुन् ।
डोजर प्रयोग गरि समाधिस्थल भत्काएपछि आदिवासी तथा जनजातिहरुको प्रतिनिधिमूलक संस्था नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिसहितका जातिय संस्थाले आपत्ति जनाएका हुन् । त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे लगायतका नेताले समेत त्यसको भत्सर्ना गरेका छन् ।
यसैक्रममा किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष शेसेहाङ फियाकले विज्ञप्ति जारी गरि मेचीनगर नगरपालिकाले आदिवासी जनजातिको मेची खोला किनारको पूरानो समाधिस्थल भत्काउने कार्यले सिंगो किरात धर्मालवम्बीसहित आदिवासी जनजातिको मृत्यु संस्कार माथिनै प्रहार भएको जनाएको छ ।
समाधिस्थलको व्यवस्थापन गर्ने बहानामा त्यसका सरोकार पक्षहरुसंग संवाद नै नगरि आफूखुसी स्थानीय सरकारले गैरजिम्मेवार हर्कत देखाएको र यस कार्य आफूहरुलाई कुनै हालतमा सह्य नभएको उनले उल्लेख गरेका छन् । विज्ञप्तिमा संघीय गणतान्त्रिक नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको हक र मानव अस्तित्व पहिचानको हक,अधिकारको बर्खिलाप संगै यसले सिंगो धार्मिक तथा जातिय सद्भाव माथि खलल पुरयाँउने कार्य भएको ठहर गरिएको छ ।
यस्तै काँग्रेस प्रबक्ता शर्मा र नेता आङदेम्बेले पनि कसैको पनि समाधिमा डोजर चलाउने कार्य अत्यन्तै दुःखद भएको भन्दै संवादमार्फत समाधानका लागि सबैलाई आग्रह समेत गरेका छन् ।
दुवै नेताले समाधिस्थल हटाएर अन्य कुनै संरचना निर्माण गर्नका लागि सम्बन्धित समुदायलाई विश्वासमा नलिंदा झापाको लखनपुरस्थित पाडाजुंगीमा भएको बिवाद जन्मिएको भन्दै त्यसबाट सजक हुन समेत मेचीनगर नगरपालिकालाई आग्रह गरेका छन् ।
नगरपालिकाद्वारा दुःख ब्यक्त
किराँत समुदायको समाधिस्थलमा डोजर चलाएको बिषयमा मेचीनगर नगरपालिकाले दुःख ब्यक्त गरेको छ । ‘मानविय संवेदनासंग जोडिएको समाधिस्थल जस्ता संरचना भत्काउने वा नष्ट गर्ने नगरपालिकाको कुनै मनसाय नरहेको भए पनि समन्वयमा भएको कमजोरीका कारण घट्ना घटेको प्रति नगरपालिका दुःख ब्यक्त गर्दछ’ नगरप्रमुख बिमल आचार्यले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ ।
शसस्त्र प्रहरीको बिओपी र मेचीनगरबीचको समन्वयको कमजोरीका कारण समाधिस्थल जस्तो संवेदनशील संरचना भत्किन पुगेको नगरपालिको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । आगामी दिनमा यस्ता किसिमका घट्ना नहुने कुरामा नगरपालिका सचेत रहेको समेत बिज्ञप्तिमा उल्लेख छ ।
समाधिस्थलमा डोजर चलाएर पुगेको क्षतिबाट उत्पन्न समस्याको समाधान खोज्न नगरपालिका प्रतिबद्ध रहेको समेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो घट्ना कसरी घट्न गयो र घट्नामा दोषीलाई छानबिन गरी कारबाही गर्न समेत नगरपालिकाको तर्फबाट शसस्त्र प्रहरीको बिओपीलाई छुट्टै पत्र लेखेको नगरप्रमुख बिमल आचार्यले वताएका छन् ।