झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनिने

झापा,१५ बैशाख । झापाका १५ वटै स्थानीय तहमा कम्तिमा एक सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।
एक साताभित्रै सबै स्थानीय तहले ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाले जानकारी दिए ।
प्रजिअ तिम्सिनाका अनुसार जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापनका लागि डीसीसीएमसीको बैठकले काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरुका लागि एक हजार क्षमताको होल्डिङ सेन्टरको स्तारोन्नति गर्ने निर्णय गरेको थियो ।
यसक्रममा कलबलगुडीस्थित प्रदेश प्रशिक्षण केन्द्रमा थप पाँच सय क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय भएअनुसार काम अघि बढेको उनले बताए ।
अहिले झापामा १ सय ९३ बेड क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा छ । प्रजिअ तिम्सिनाका अनुसार रोकथामको प्रयास स्वरूप सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाइ गर्ने, अत्यावश्यक कामबिना नेपाल भारत आवतजावत बन्द गर्ने काम पनि भइरहेको छ ।
जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै १६८ बढी सक्रिय सङ्क्रमित रहेकाले सङ्क्रमणको जोखिम कम गर्ने प्रयास स्वरूप सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयको सेवा आलोपालो सिस्टम लागू गरिएको समेत प्रजिअ तिम्सिना बताउँछन् ।
तिम्सिनाका अनुसार सेवाग्रहीका हिसावले बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, नापी, मातपोत, यातायात कार्यालयमा आलोपालो सिस्टम लागू भएको छ ।

Leave a Reply

Your email address will not be published.