झापामा छुट्टाछुट्टै दुर्घटना : तीनजनाको मृत्यु, चार घाइते

झापा ,७ मंसीर । झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । शिवसताक्षीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको र मेचीनगरमा स्कुटर दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको हो भने गौरादहमा स्कुटी दुर्घटनामा परेर घाईते एक महिलाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती दुर्घटनामा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार गौरादहमा स्कुटी दुर्घटनामा घाइते भएकी दमक -१ की ४० बर्षिया गीता अर्याल अधिकारी मृत्यु भएको छ ।शनिवार बिहान ९ः१० बजे गौरादह -५ बालुबथानस्थित भित्री सडक खण्डमा बालुबथानबाट चप्रामारीतर्फ जाँदै गरेको प्र१–०१–०१९ प २६४५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा सवार अधिकारीको उपचारका क्रममा मृत्युभएको हो ।
दुर्घटनामा स्कुटर चालक दमक -४ बस्ने बर्ष ३३ की भावना निरौलाको दाहिने कुम, हात र खुट्टामा सामान्य चोट लागेको थियो भने अधिकारीको टाउको र दाहिने कानमा चोट लागेको थियो ।
दुवैलाई उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो । त्यहाँबाट घाईते दुवैलाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।
अधिकारी गम्भीर घाइते भएकीले बीएण्डसी अस्पतालले उपचार हुन नसक्ने भनी जानकारी गराएपछि उनका आफन्तले दमक लिएर गएका थिए । आइतवार दिउँसो १.३५ बजे लाईफ लाईन अस्पताल दमकमा उपचारका क्रममा अधिकारीको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । सिग्देलको बीएण्डसी अस्पताल बिर्तामोडमा नर्मल वेडमा राखी उपचार भइरहेको छ । पाँचथर चोकमागु जन्म भई अधिकारीको इलाम साबिक फुएतप्पा वडा न ५ निवासी मातृकाप्रसाद अधिकारीसंग विवाह भएको थियो ।

यसैगरि, शिवसताक्षी नगरपालिका–१० माईधारस्थित अधिकारी चोकमा आइतबार बिहान सिटी सफारी अनियन्त्रित भएर सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको छ। माईधारबाट शिवगञ्जतर्फ जाँदै गरेको अनटेस्ट सिटी सफारी बिहान करिब ३ बजे सडकको बायाँतर्फ झन्डै तीन मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शिवसताक्षी–७ चन्द्रडाँगीका ४० वर्षीय हस्त राजवंशी गम्भीर घाइते भएका थिए। अनुहारको बायाँ भाग र कानबाट रगत बगेको अवस्थामा रहेका उनलाई

उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सफारीमा सवार सोही ठाउँकी ५० वर्षीया गंगा राजवंशी र १२ वर्षीय मुकेश राजवंशी पनि घाइते भएका छन्। गंगाको निधारमा र मुकेशको टाउकोको बायाँ भागमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै उपचारपछि घर फर्किएका छन्।
घटनाको जानकारी बिहान ३ः१५ बजे प्राप्त भएपछि अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरी सहायक निरीक्षक गणेशप्रसाद यादवको नेतृत्वमा टोली खटिएको थियो। सफारी चालक शिवसताक्षी–७ का ४० वर्षीय नरेश राजवंशी भने सकुशल छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त सफारी घटनास्थलमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, मेचीनगर नगरपालिका–१५ बंशल बगानस्थित भद्रपुर–काँकडभिट्टा सडकमा शनिबार दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५९१७ नम्बरको स्कुटर दिउँसो ४ः१० बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक भद्रपुर नगरपालिका–८ का ५५ वर्षीय नगेन्द्र सापकोटा गम्भीर घाइते भएका थिए।
अनुहार र टाउकोमा चोट लागेका सापकोटालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। स्कुटरको पछाडि सवार भद्रपुर–८ कै ४९ वर्षीय किरण राई घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.