झापा, ३ मंसीर । धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा झापाको बाह्रदशी गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी ३ चकचकीका गोपाल ताजपुरिया र बाह्रदशी २ बुट्टावारीका अशोक राजवंशी भएको बुझिएको छ । मृतकहरुको यकिन पहिचान खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमै ज्यान गुमाएका अन्दाजी ३० देखि ३५ वर्षको र मृतकहरुको अनुहार नै नचिनिने अबस्थाका थिए ।
बुधबारराति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा दुर्घटना भएको हो।राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनापछि धान काट्ने मेसिन गाडी घटनास्थलमै छाडेर फरार भएका चालकको खोजी भइरहेको छ । दुर्घटना भएको भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट प्रहरी सहायक निरीक्षक पुष्पलाल मिश्रको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको कमाण्डमा टोली गएको थियो ।
राति १२.४५ बजे कानुनी प्रकृयापश्चात् दुवै लाश पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ ।