झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ

झापा ,३मंसीर । शिवसताक्षी नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सताक्षीधाममा आगामी २०८३ माघ ९ गतेदेखि ‘शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ’ आयोजना हुने भएको छ ।
वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गोलोक गोवर्धन गौशालाको आयोजनामा यो बृहत् धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो ।
झापाको धार्मिक इतिहासमा झन्डै चार दशकपछि यो दुर्लभ महायज्ञ हुन लागेको आयोजकले जनाएका छन् । यसअघि विसं २०४२ मा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाकै पवित्र कनकाई धाममा एक करोड गायत्री मन्त्रद्वारा हवन गरी कोटी हवन महायज्ञ सम्पन्न गरिएको थियो ।
करिब ४१ वर्षको लामो अन्तरालपछि झापाको भूमिमा पुनः कोटी हवन हुन लागेकाले यसलाई पूर्वी नेपालकै एक ऐतिहासिक आध्यात्मिक उत्सवका रूपमा हेरिएको छ ।
महायज्ञको पूर्वतयारीस्वरूप यही मङ्सिर ५ गते विशेष धार्मिक अनुष्ठानका साथ भूमिपूजन गर्ने कार्यक्रम तय भएको छ । गोलोक गोवर्धन गौशालाका संरक्षक एवम् अध्यक्ष आचार्य नन्दकिशोरजी भारद्वाजका अनुसार महायज्ञको मुख्य हवन कुण्ड निर्माणका लागि शनिबार ‘सुनको हलो’ ले भूमि खनी वैदिक विधिअनुसार भूमिपूजन गरिनेछ ।
भूमिपूजन समारोहमा नेपालसहित भारत, भूटान, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकबाट आएका विशिष्ट सन्त, महात्मा तथा धार्मिक गुरुको उपस्थिति रहनेछ ।
महाभारतकाल र पौराणिक कथासँग जोडिएको शिवसताक्षीधाम पूर्वी नेपालको एक प्रमुख आस्थाको केन्द्र मानिन्छ । महाभारतकालमा पाण्डवले गुप्तवासका क्रममा यस क्षेत्रमा विचरण गरेको तथा सतीदेवीको अङ्ग पतन भई सताक्षी देवीको उत्पत्ति भएको धार्मिक किंवदन्ती रहेकाले यस धामको विशिष्ट आध्यात्मिक महत्व छ ।
चुरे पहाडको फेदीमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण यस धाममा २०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएपछि धार्मिक पर्यटनको गतिविधि फस्टाएको छ । स्थापनाकालदेखि नै गौ संरक्षण र सनातन संस्कृतिको जगेर्नामा सक्रिय यस गौशालामा हाल दुई हजार ५०० गाईको संरक्षण भइरहेको छ ।
गौशालाको सक्रियतासँगै धामसम्म पुग्नका लागि सुविधासम्पन्न कालोपत्रे सडक निर्माण भएको छ । धाम परिसरमा दर्जनौँ मठमन्दिर, देवालय, अतिथिगृह, सुविधासम्पन्न गौशाला, रामदरबार तथा द्वादश ज्योतिर्लिङ्गलगायतका आकर्षक धार्मिक संरचना निर्माण भएका छन् ।
यहाँ सञ्चालन हुने शतकुण्डीय गायत्री कोटी हवन महायज्ञले शिवसताक्षीधामको धार्मिक तथा पर्यटकीय गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published.