झापा, ३१ असोज । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–५ ओमचोकबाट ६ जनालाई नगद,ताससहित पक्राउ गरेको छ ।स्थानीय सिताराम थापाको घरको दोस्रो तलामा तास खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार असोज ३० गते राति करिब ११ बजे गरिएको कारबाहीका क्रममा १ लाख २२ हजार ६८० रुपैयाँ नगद र तासका दुई बुक बरामद गरिएको छ । बरामद तासमध्ये एक बुक खोलिएको र अर्को नखोलिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका निवासी ५५ वर्षीय सिताराम थापा, ४१ वर्षीय किशोर थापा, ४२ वर्षीय एक चौहान, ४५ वर्षीय निरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन्। पक्राउ परेका छ जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।