दमक, १९ असोज। झापाको दमक-८ स्थित एनसीएल मार्गको कालोपत्रे सडक भ्वाङका कारण जोखिम बढाएको छ ।सडकको ड्रेन -नाला आसपासको भागमा अविरल वर्षाका कारण भ्वाङ परेको र क्षति पुगेपछि सर्वसाधारणको आवागमनमा जोखिम बढेको हो।
सडकमा एक्कासी ठुला-ठुला भ्वाङ पर्न थालेपछि विशेष गरी रातिको समयमा सवारी दुर्घटनाको जोखिम बढेको स्थानीय कुमार राईले बताए। उनका अनुसार प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै यस क्षेत्रको सडकमा यस्तै प्रकारका भ्वाङ पर्ने र क्षति पुग्ने समस्या दोहोरिने गरेको छ।
वर्षेनी यो समस्या दोहोरिँदै आए पनि सम्बन्धित निकाय र स्थानीय सरकारले स्थायी समाधानका लागि खासै चासो र जवाफदेही नदेखाएको स्थानीयको गुनासो छ। सडकको तत्काल मर्मतसम्भार गरी सम्भावित दुर्घटनाबाट जोगाउन स्थानीयले माग गरेका छन्।