भेट्रान च्यालेन्ज कपमा चन्द्रगढी र काँकरभिट्टाको शानदार जित

दमक ,१८ असोज । झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को चन्द्रगढी र काकडभिट्टा भेट्रान विजयी भएको छ ।
चौथो दिनको पहिलो क्वार्टर फाईनल खेलमा चन्द्रगढी भेट्रान (झापा) र धरान भेट्रान (सुनसरी ) बीच भिडन्त भएको थियो । प्रतियोगिताको चौथो दिनको खेलमा चन्द्रगढी भेट्रानले धरान भेट्रानलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलको खेल सुरु भएको ८औँ मिनेटमा धरान भेट्रानका जर्सी नम्बर १६ का राष्ट्रिय खेलाडी खगेन्द्र खड्काले १ गोल गरेका थिए। त्यसपछि खेलको २२औँ मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ९ का प्रेमकुमार लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यस्तै, हाफ टाइमपछि खेलको अन्तिम मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ११ का मित्र बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।

त्यसैगरी सोही दिनको दोस्रो खेलमा काकडभिट्टा भेट्रान र दुधे भेट्रान बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा काकडभिट्टा भेट्रानले दुधे भेट्रान लाई २-० गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको पहिलो हाफसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। दोस्रो हाफको ८औँ मिनेटमा पेनाल्टीमार्फत काँकरभिट्टा भेट्रानका राष्ट्रिय खेलाडी जर्सी नम्बर १४ का विशाल राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। लगत्तै दोस्रो हाफको ११औँ मिनेटमा पनि विशाल राईले अर्को गोल गर्दै टोलीलाई २–० को जित हासिल गराए। खेलका क्रममा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए।

यो खेलसँगै चन्द्रगढी भेट्रान र काकडभिट्टा भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। भोलि सोमबार हुने सेमिफाइनलको पहिलो खेल बिर्तामोड भेट्रान र चन्द्रगढी भेट्रान बीच हुनेछ भने सेमीफाइनलको दोस्रो खेल दमक भेट्रान (रातो) र काकडभिट्टा भेट्रान बीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष गजेन्द्र देवानले जनाए ।

 

Leave a Reply

Your email address will not be published.