दमक,२० भदौं । रोटरी क्लब अफ दमकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ५ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
क्लवका अध्यक्ष सागर श्रेष्ठले रोटरी डिष्ट्रिक्ट ३२९२ को निर्देशनअनुसार क्लबका सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकमसहित क्लबको प्राकृतिक बिपद कोषमा रहेको रकम एक मुष्ठ जम्मा गरि डिष्ट्रिक्टको राहत कोषमा हस्तान्तरण गरिएको छ । डिष्ट्रिक्टमार्फत सो रकम विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित राहत कोषमा हस्तान्तरण गरिने जनाइएको छ ।
बाढीका कारण प्रभावित परिवारको तत्कालीन राहत तथा आगामी पुनःस्थापनाका कार्यमा केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । उनले मानवीय सेवाका अभियानमा रोटरी क्लब अफ दमकको सक्रियता आगामी दिनमा पनि निरन्तर रहने बताए ।
दुई दिन अघि मात्रै रोटरी क्लब अफ दमकको अगुवाईमा झापाको दमक -९ मा रहेको दमक बाल आश्रम परिसर भित्र करिब डेढ लाख बढीको लागतमा खेल उद्यान निर्माण गरी आश्रमलाई हस्तान्तरण गरिएको थियो ।