झापा,९ भदौ । जन्मदिनका अवसरमा हुने तडकभडक र फजुल खर्चलाई निरुत्साहित गर्दै झापाका पत्रकार तथा सहकारीकर्मी राजेन्द्र गौतमले जेहेनदार छात्राको शिक्षामा सहयोग गरेका छन्।
गौतमले आफ्नो जन्मदिनको अवसरमा लक्ष्मी क्याम्पस, बनियानीमा बीबीएस प्रथम वर्षमा अध्ययनरत मोनिका राजवंशीलाई पाँच महिनाको शिक्षण शुल्कसहित आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन्। उनी हाम्रो नेपाल संस्था साकोसका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष हुन् ।मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा गौतमले छात्रा राजवंशीलाई उक्त सहयोग हस्तान्तरण गरे।
‘होटल तथा रेस्टुरेन्टमा गएर फजुल खर्च गर्नुभन्दा विद्यार्थीको शिक्षामा सहयोग गर्दा वास्तविक आत्मसन्तुष्टि मिल्छ,’ गौतमले भने, ‘व्यक्तिगत रूपमा समाज र शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश जाओस् र एउटा विद्यार्थीको अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले यो विकल्प रोजेको हुँ।’
भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका गौतम विगत तीन दशकदेखि पत्रकारितामा समेत क्रियाशील छन्। उनी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत हुन्। सहकारी क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका गौतमले व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यार्थीको शिक्षामा सहयोग गरेका हुन्।