दमकका ३४ सहकारी कानुनी निगरानीमा, विवरण नबुझाए खारेजीको चेतावनी

दमक,७ भदौं । झापाको दमक नगरपालिका क्षेत्रभित्र सञ्चालित ३४ वटा सहकारी संस्थाले प्रचलित कानुनअनुसार बुझाउनुपर्ने आवधिक तथा नियमकीय विवरण नबुझाएको पाइएको छ ।दमक नगरपालिका र कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै ती सहकारी संस्थालाई तत्काल कानुनी दायरामा आउन निर्देशन दिएका छन्।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौलाद्वारा जारी विवरणअनुसार दमक सहकारी ऐन, २०७५ तथा कोशी प्रदेश सहकारी ऐन, २०७६ को प्रावधानअनुसार बुझाउनुपर्ने विवरण लामो समयदेखि नबुझाउने सहकारीहरूलाई कानुनी प्रक्रिया पूरा गर्न भनिएको हो।

दुई वर्षदेखि विवरण नबुझाउने २६ सहकारी

दमक सहकारी ऐन, २०७५ को दफा ५३ को उपदफा (१) बमोजिम नगरपालिकामा नियमकीय विवरण नबुझाउने सहकारीको सूचीमा २६ संस्था रहेका छन्  ।

जसअनुसार साविक दमक ११ को नेपाल औषधी व्यवसाय सहकारी संस्था लि, दमक १० को न्यु युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था ,दमक ६ को नारी एकता बचत तथा ऋण सहकारी संस्था , दमक १० को फुलवारी कृषि सहकारी संस्था , महिला जागरण उपभोक्ता सहकारी संस्था ,दमक १ को सिद्धिदात्री कृषि सहकारी संस्था , दमक ८ को हिफाजत कृषि सहकारी संस्था ,दमक १३ को कञ्चन दुग्ध सहकारी संस्था , कोहिनुर बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

यसैगरि, दमक ७ को हलेसी कृषि सहकारी संस्था, त्रिगंगा कृषि सहकारी संस्था,दमक ६ को नारायणी बचत तथा ऋण सहकारी संस्था , सब्जी बजार कृषि सहकारी संस्था ,देवी पाथिभरा बचत तथा ऋण सहकारी संस्था ,दमक उपभोक्ता सहकारी संस्था ,पञ्चमुखी उपभोक्ता सहकारी संस्था ,दमक ३ को हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारी संस्था, दीपज्योति बचत तथा ऋण सहकारी , मानसरोवर कृषि सहकारी संस्था, दमक ५ को माईपश्चिम बचत तथा ऋण सहकारी संस्था, संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था ,हाम्रो सचेतना समृद्धी बहुउद्देश्यीय सहकारी संस्था , शितल कृषि सहकारी संस्था , मुनाल बचत तथा ऋण सहकारी संस्था , दमक ४ को लक्ष्मी बेराङ्ग सामुदायिक बचत तथा ऋण सहकारी संस्था र दमक १ को हिमाञ्चल बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

मुनाल र दीपज्योति सहकारीले २०८२ सालको विवरणसमेत बुझाउन बाँकी रहेको उल्लेख छ ।

प्रदेशको सूचनामा थप ८ सहकारी

त्यसैगरी, कोशी प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० को उपदफा (१) अनुसार लगातार दुई वर्षसम्म प्रतिवेदन नबुझाएका थप आठ सहकारीलाई प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले ३५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गर्न निर्देशन दिएको छ ।

सूचनामा उल्लेख गरिए अनुसार साविक दमक १० को कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ,जिल्ला उपभोक्ता सहकारी संघ , दमक–११, स्वर्णपुरी बचत तथा ऋण सहकारी संस्था ,मजवुत बचत तथा ऋण सहकारी संस्था दमक–१२, नवरंग बचत तथा ऋण सहकारी संस्था दमक–११, दर्पण बचत तथा ऋण सहकारी संस्था दमक–६, क्लियर कृषि सहकारी संस्था दमक–११ र भाग्यशाली बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

११ प्रकारका विवरण बुझाउनुपर्ने

प्रदेश कार्यालयले ती सहकारीलाई हालसम्म नबुझाएका वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम, नीति तथा योजना, खुद बचतसम्बन्धी नीति, सञ्चालकहरूको विवरण, साधारणसभाको जानकारी, शेयर सदस्य तथा शेयरको विवरण, सञ्चालक वा सदस्यले लिएको बाँकी ऋणको विवरण र विभिन्न कोषको विवरण पेश गर्न भनेको छ ।

यस्तै, वार्षिक रूपमा लगानी गर्न सकिने ऋणको अधिकतम सीमा, रजिस्ट्रारले समय–समयमा तोकेका अन्य विवरण तथा सञ्चालक, लेखा र व्यवस्थापकको सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेछ ।

नगरपालिका तथा प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले तोकिएको समयभित्र आवश्यक विवरण तथा कागजात पेश नगर्ने सहकारीमाथि सहकारी ऐनअनुसार खारेजी प्रक्रिया वा अन्य कडा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएका छन्।

यसले दमकमा लामो समयदेखि नियमित गतिविधि र विवरण अद्यावधिक नगरी रहेका सहकारी संस्थामाथि स्थानीय तथा प्रदेशस्तरबाट नियमन कडा बनाउन थालिएको देखाएको छ ।

 

Leave a Reply

Your email address will not be published.