कमल ,३० साउन । झापाको कमल गाउँपालिका- ६ सोनापुर स्थित लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गरिएको छ ।वडाअध्यक्ष नगेन्द्र भट्टराईको अध्यक्षता र गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी , प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक दाहालको विशेष आतिथ्यतामा भवनको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दे अव भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष राईले भने, –‘यस स्वास्थ्य चौंकीबाट स्वास्थ्य बिमा,एक्सरे सेवासहित दैनिक रुपमा डाक्टरी सेवा उपलव्ध गराउन स्थानीय सरकार प्रयत्नशील छ, छिट्टै यी सवै पूरा हुने छन् ।’
कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, समाजसेवी दिलीप संग्रौला,जग्गादाता तुलसीप्रसाद कुईकेल लगायतले बोलेका थिए ।
सोही अवसरमा भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने तलसीप्रसाद कुईकेल लगायतका ग्गादाताहरुलाई समेत अभिनन्दन गरिएको थियो भने जनप्रतिनिधि, महिला स्वयंसेबिकाहरु, राजनीति दलका प्रतिनिधिहरु, स्वस्थ्यकर्मीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
स्थानीय सात जना दाताहरूले निःशुल्क उपलब्ध गराएको ७ कठ्ठा जमिनमा २ करोड ५७ लाख १८ हजार ४३८ रूपैयाँको लगानीमा स्वास्थ्य चौकी भवनको निर्माण गरिएको हो ।
लखनपुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माण तथा बर्थिङ सेन्टर सेवा सञ्चालनसँगै कमल गाउँपालिका–६ सहित आसपासका नागरिकले थप व्यवस्थित, सुरक्षित र सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।