सुनझोडा मोटरेबल पुल उद्घाटन

पथरी शनिश्चरे,३ साउन । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गरिएको छ । नवनिर्मित पुलको आइतवार नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व संघीय सांसद डा. सुनिलकुमार शर्माले उद्घाटन गरे ।

उद्घाटनका क्रममा पूर्व सांसद डा. शर्माले बाल्यकालमा यही खोलो पैदल तर्दा भोगेका कठिनाइ स्मरण गर्दै अहिले त्यही स्थानमा पुल निर्माण सम्पन्न हुनु आफ्ना लागि निकै खुसीको विषय भएको उल्लेख गरे ।

पूर्व सांसद शर्माले आफ्नो कार्यकालमा पहल गरी पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत निर्माण भइरहेका दुई वटा ओभरहेड ट्याङ्कीका लागि ३५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको जानकारी दिए । पथरी शनिश्चरे–२ को बोक्रेटोल र भोटेघुम्तीमा निर्माणाधीन ४ लाख ५० हजार लिटर क्षमताका दुई ट्याङ्कीबाट नगरका वडा नम्बर १, २, ३, ५, ६ र ७ का बासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य रहेको उनले जनाए ।
गत वर्ष २०८२ सालको जेठ अन्तिम साता शिलान्यास गरिएको ३० मिटर लामो यो पुल कार्की बन्धु कन्ट्रक्सन प्रालिले करिब ५ करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको हो।

पथरी शनिश्चरे–२ का वडाध्यक्ष नैना साम्पाङ राईले पुल सञ्चालनमा आएपछि दुवै पालिकाका नागरिकलाई आवतजावतमा सहजता हुनुका साथै कृषि उत्पादन, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद तथा समग्र आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिका–३ का वडाध्यक्ष भीष्म बुढाथोकी, नेपाली कांग्रेसका नेता बसन्त भट्टराई, नगर सभापति रूपनारायण भट्टराई, विभिन्न वडाका जनप्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

 

Leave a Reply

Your email address will not be published.