दमकमा आस्था फाउण्डेशन गठन,अध्यक्षमा गुरुङ

दमक ,३ साउन । झापाका सामाजिक तथा व्यावसायिक क्षेत्रका अगुवाहरू समाज रुपान्तरणका लागि संगठित भएका छन् । युवाहरूमा बढ्दो लागूऔषध दुर्व्यसनका कारण समग्र समाज नै जोखिममा परेको ठहर गर्दै यसको नियन्त्रण र रोकथामका लागि अभियान चलाउने उद्देश्यले उनीहरू गोलबद्ध भएका हुन् ।

शनिबार दमकमा सम्पन्न सरोकारवालाहरूको भेलाले केर्खाका सामाजिक अगुवा चक्र गुरुङको अध्यक्षतामा ११ सदस्यीय आस्था फाउण्डेशन तदर्थ समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा दुर्गा काफ्ले, सचिवमा पवन विष्ट र कोषाध्यक्षमा रिङकुमार आचार्य चुनिएका छन् । यसैगरि, सदस्यहरुमा सन्तोष थाम्सुहाङ , होमबहादुर बराल, दुर्गाबहादुर खड्का, तनुजा दुलाल,शान्ता दाहाल (उप्रेती), बादचन्द्र कार्की र बिक्की प्रसाद साह चुनिएका छन् ।

सामाजिक अगुवा भीमराज केरुङको अध्यक्षतामा बसेको उक्त बैठकले लागूऔषध नियन्त्रण र रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । यसका साथै दुर्व्यसनमा फसेका युवाहरूको पुनःस्थापनाका लागि उपचार सेवासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको नवगठित संस्थाका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार संस्थाले स्थानीय सामाजिक संघसंस्था, स्थानीय तह , प्रदेश सरकार लगायतका सरोकारवालाहरुसंग आपसी समन्वय ,सहकार्य गरि कार्यक्रमहरु सञ्चालन गरिने छन् ।

भेलाले संस्थालाई संस्थागत रूपमा अगाडि बढाउन विधान निर्माणको प्रक्रिया पनि सुरु गरेको छ । जसका लागि हेमनाथ अधिकारीको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा कृष्णराज थापा, गिरेन्द्र चम्लागाईं, उमानाथ भण्डारी र गोपाल गुरागाईं रहेका छन् । उक्त संस्थाले छिट्टै नै आफ्ना गतिविधिहरूलाई तीव्र पार्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.