तेह्रथुम,३०बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको आतंक नियन्त्रण गर्न आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न बिदा दिन लागिएको हो।
नगर प्रमुख अर्जुन माबोहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, रातदिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ।
बाँदरको समस्या सतहमा सामान्य देखिए पनि यसले कृषक वर्गलाई गम्भीर असर पारेको छ, सूचनामा भनिएको छ, -कृषि उपज जोगाउन किसान रातभर खेतबारी कुरेर बस्नुपर्ने अवस्था छ। यसले किसानको आर्थिक अवस्था मात्र होइन, बालबालिकाको शिक्षा र परिवारको दैनिकीसमेत प्रभावित भएको छ।
नगरपालिकाले जेठ १ र २ गते सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको जनाएको छ। यसका लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई सार्वजनिक रूपमा आह्वान गरिएको छ।पछिल्ला वर्षमा पहाडी जिल्लामा बाँदरको समस्या तीव्र बन्दै गएको छ। विशेष गरी मकै, आलु, फलफूल तथा तरकारी खेतीमा बाँदरले क्षति पुर्याउँदा किसान खेतीपाती नै छाड्न बाध्य भएको गुनासो बढ्दै गएको छ। लालीगुराँस नगरपालिकाले सार्वजनिक बिदासहित सामूहिक रूपमा बाँदर धपाउने निर्णय गरेपछि यस विषयले अहिले चर्चा पाएको छ।