दमक,२६ चैत । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरेर झापा,कमल गाउँपालिकाका दुई जना दाजुभाइको हत्या भएको छ ।कमल -६ घर भई हाल ललितपुरको इमाडोल बस्दैआएका देउकुमार नेम्बाङका जेठा छोरा ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरि हत्या गरेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बुधबार साँझ एक सामान्य फोन कल गलत नम्बरमा पुगेपछि विवाद सुरु भएको थियो । फोनमै भनाभन बढ्दै जाँदा एकअर्कालाई नचिनेका व्यक्तिबीच तनाव सिर्जना भएको र त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाएको खुलेको छ । इमाडोलबाट पुगेका दाजुभाइमाथि मासु पसलमा काम गर्ने सञ्जीवले घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते अवस्थामा रहेका दाजुभाइलाई उपचारका लागि बी एन्डबी अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको बोगटीले बताए । नेम्बाङ परिवार एक दशकदेखि काठमाडौंमा बस्दैआएका थिए । पूर्व मेनपावर व्यवसायी नेम्वाङको श्रीमती वेलायतमा छन् भने दुई छोराका बाबु इमाडोलमा बस्दैआएका थिए ।
घटनापछि प्रहरीले सञ्जीव नेपालीसहित गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यसैवीच, नेम्वाङ दाजुभाईको विभत्स हत्याको घटनाले यतिखेर बालसाखको गाउँ पञ्चकन्या शोकमग्न भएको छ ।