दमक,१८ चैत । कोशी प्रदेश सरकारले झापाको कमल गाउँपालिकालाई करिव १० लाख मूल्यका स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ । कोशी प्रदेश सरकारमार्फत स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले करिब १० लाख रुपैयाँ बराबरका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु दिएको अध्यक्ष हुकुमसिंह राईले बताए ।
उनका अनुसार प्राप्त सामग्रीहरूमा अक्सिजन सिलिन्डर (१० लिटर), अक्सिजन कन्सेन्ट्रेटर, नेबुलाइजेसन सेट, ईसीजी मेसिन, अटोक्लेभ मेसिन, बी.पी. सेट, पल्स अक्सिमिटर, पीपीई किट तथा डेलिभरी बेड लगायतका स्वास्थ्य सामग्री तथा उपकरणहरू रहेका छन्।
उक्त सामग्रीहरू कमल नगर अस्पताल, लखनपुर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइहरूमा वितरण गरिने अध्यक्ष राईले बताए ।
उनले ती सहयोगी सामाग्रीहरुको उपलव्धताले गाउँमै आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा अझ सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको बताए ।
कोशी प्रदेश सरकारको आयोजना तथा कमल गाँउपालिकाको व्यवस्थापनमा गत फागुनमा कमल नगर अस्पतालमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सोहि अवसरमा स्वास्थ्य मन्त्री लिम्बूले कमल गाउँपालिकाको स्वास्थ्य सेवा तथा कमल नगर अस्पतालको निरीक्षण गरेका थिए । उक्त निरीक्षणकै क्रममा उनले आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका र सोहि अनुसार ती सामग्रीहरू प्राप्त भएको अध्यक्ष राईले जनाएका छन् ।