दमक ,७ माघ । नेपाली कांग्रेस दमक नगर समितिको कार्यवहाक सभापतिको जिम्मेवारी प्रेम भट्टराईले पाएका छन् । बुधबार दमकस्थित पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले रिक्त रहेको कार्यवहाक सभापतिको जिम्मेवारी नगर उपसभापति समेत रहेका भट्टराईलाई दिने निर्णय गरिएको उपसभापति युवराज खनाल सागरले जानकारी दिए ।
तत्कालीन सभापति प्रकाश प्रसाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी प्रवेश गरे पछि रिक्त रहेको सो पदमा भट्टराईलाई जिम्मेवारी दिने निर्णय गरिएको हो । सोहि बैठकले फागुन २१ गते हुन गईरहेको निर्वाचनमा पार्टीकी उम्मेदवार मन्धरा चिमरिया पौडेललाई जिताउन टोलतहसम्म निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बताए ।
बैठकमा उम्मेदवार चिमरियाले आफू दमककै बासिन्दा भएकी र यस क्षेत्रको समग्र विकासमा आफू निर्वाचित भए काम गरेर देखाउने प्रतिवद्धता जनाईन् । राजनीतिक, सामाजिक क्रियाशील रहिआएकी उम्मेदवार चिमरियाले यस क्षेत्रलाई बोली भन्दा व्यवहारमा नै परिवर्तनको अनुभूति दिलाउन कांग्रेसको जित आवश्यक भएको औल्याईन् ।