दमक,१० पुस । दमक उद्योग बाणिज्य संघको आगामी पुष १८ गते हुने निर्वाचनका लागी संयुक्त ब्यवसायिक प्यानलले उम्मेदवारहरु घोषणा गरेको छ । संघका हाल अध्यक्ष समेत रहेका देवीप्रसाद गुरागाईं(गोपाल) को नेतृत्वमा संयुक्त प्यानलका उम्मेदवारहरु घोषणा गरिएको हो ।
नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी समर्थित ब्यवसायीहरुको संयुक्त प्यानलबाट अध्यक्षमा गुरागाईसहित बरिष्ठ उपाध्यक्षमा ज्ञाननाथ पौडेल(ज्ञानु), प्रथम उपाध्यक्षमा रुबल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा, तीतृय उपाध्यक्षमा सुवास गड्तौला र महिला उपाध्यक्षमा संगिता तुम्बापो लिम्बूको उम्मेदवारी घोषणा गरिएको हो ।
त्यसैगरी सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पौडेल, भरत दुलाल, तोर्ण बस्नेत र युवराज घिमिरेका साथै महिला सदस्यमा गंगा अधिकारी बजगाईं र बसुधा कडरीया दाहाल साथै लेखा समिति संयोजकमा भेनस श्रेष्ठ सहित सदस्यहरु रुपक सापकोटा र विलास यादवले उम्मेदवारी घोषणा गरिएको हो ।
सोही प्यानलबाट बस्तुगततर्पm रेवती दाहाल, चन्द्र काफ्ले, बिबेक बजगाईं (बुद्धिसागर) र कृष्णराज दाहालको उम्मेदवारी सार्वजनिक गरिएको हो ।
कांग्रेस झापाका उप सभापति शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङ र कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले दमकका उद्योगी ब्यवसायीको हितमा क्रियासिल संयुक्त प्यानलका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।
उनीहरुले गत भदौमा भएको जेन–जी आन्दोलन पछिको पुनर्निमाणमा क्रियासिल हुनुका साथै यहाँका हरेक समाजिक समस्यामा नेतृत्वदायी भूमिका निर्वाह गरेर अहिलेको नेतृत्वले सामाजिक परीक्षा पास गरेको भन्दै यही टिमले बाणिज्य संघको आगामी कार्यकाल स्वर्णिम बनाउने बताए ।
सो कार्यक्रममा अध्यक्षका प्रत्यासी देवीप्रसाद गुरागाईं गोपालले प्रतिबद्धता मन्तव्य राख्दै दमकका उद्योगी ब्यवसायीको हरेक दुख सुखमा सक्रिय नेतृत्व आफूहरुको रहेको दाबी गर्दै बिगतको कामको समीक्षा गर्दै मतदाताले भोट दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।
करिव २३ सय मतदाता
आगामी तीन वर्षे कार्यका लागि हुने निर्वाचनमा संघमा आवद्ध २२ सय ९८ जना सदस्यले मतदान गर्ने छन् । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारीमा ६ जना, बस्तुगत सदस्यतर्फ ६, खुला सदस्यतर्फ ६ जना निर्वाचित हुने छन् । यसैगरि,संयोजकसहित दुई सदस्य गरि तीन सदस्यीय लेखा समिति समेत चयन गर्ने संघले जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस निकट हालका अध्यक्ष गोपाल गुरागाईसहित एमाले निकटबाट भरत राज चम्लागाई र राप्रपा निकटबाट राजु खड्काको व्यवसायीक प्यानल चुनावी मैदानमा देखिएका छन् । गुरागाईबाहेक अन्य दुई उम्मेदवारले भने तीन महिना अघिनै उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपाली कांग्रेस र नेपाली कम्यूनिष्ट पार्टी वीच संयुक्त गठबन्धन निर्माण गरि गुरागाईको नेतृत्वमा चुनावी मैदानमा होमिएका छन् ।
यस्तो छ निर्वाचन कार्यक्रम
निर्वाचन सम्पन्न गर्न लीला गुरागाईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत मतदाता नामावलीहरु माथि दावी विरोध सकिएको छ भने शुक्रवार विहान १०.३० वजेदेखि २.३० वजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम राखिएको छ भने उम्मेदवारहरु माथि पुस १२ गते विहान १०.३० देखि २.३० सम्म दावीविरोध,३.३० वजे उम्मेदवारीहरु दावीविरोध पछि उम्मेदवारको नामावली प्रकाशन , १३ गते पुस विहान १०.३० वजे ४ वजेसम्म उम्मेदवार मनोनयन फिर्ता र सोहि दिन ४.३० वजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ । निर्वाचन कार्यक्रम अन्तर्गत पुस १८ गते विहान ८ वजेदेखि अपरान्ह ३ वजेसम्म मतदान तय गरिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।