झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

झापा,२१ मंसीर । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए । उनका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षेत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो ।
बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिए ।
गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित रु ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।

सुनसरीमा धान उत्पादन घट्यो
बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३९२ मेट्रिकटन धान उत्पादनमा कमी आएको हो ।

गत वर्ष जिल्लामा दुई लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख ११ हजार ६७६ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए ।
जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । गत कात्तिक १३ र १४ गते परेको अविरल बेमौसमी वर्षाले करिब १४ हजार हेक्टर क्षेत्रफल धानबालीमा क्षति पुगेपछि उत्पादनमा गिरावट आएको उनको भनाइ छ ।
सूचना अधिकारी श्रेष्ठले भने, “सुरुमा पानी नपरेर रोपाइँ ढिला भए पनि त्यसपछि अनुकूल मौसमका कारण उत्पादन वृद्धि हुने अपेक्षा थियो । यो वर्ष रोगकिराको सङ्क्रमण न्यून देखिएको थियो, तर कात्तिकको बेमौसमी वर्षाले धान बाट्ने समयमा क्षति पु¥याउँदा उत्पादन घट्यो ।”
उनका अनुसार यहाँका अधिकांश किसानले राधा, बारतरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम र बास्मती जातका धानखेती गर्दछन् ।
सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज, बर्जु र दुहबी क्षेत्रहरू प्रमुख धान उत्पादन क्षेत्रका रूपमा रहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.