पहिरोले घर पुरिँदा इलाममा २ जनाको मृत्यु

इलाम,१९ असोज । इलाममा पहिरोमा पुरिएर कम्तीमा पनि दुई जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्। इलाम नगरपालिका ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर गएराति गएको पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। मृतकको पहिचान खुल्न सकेको छैन् ।
पहिरोमा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिए। अहिले पनि उद्धारको काम भइरहेको स्थानीयले बताएका छन् ।
बाढीपहिरोको कारण इलामका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको आशङ्का गरिएको छ । पहिरोमा परेर धेरैजना वेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ।
निरन्तरको वर्षाको कारण इलामा आधार दर्जन भन्दा बढी ठाउँमा गएको पहिरोमा परेर मानिसहरू हराइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।प्रारम्भिक विवरण अनुसार सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका बाढी पहिरोले जनधनको ठूलो क्षति गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मानबहादुर राईका अनुसार अझै सबै क्षेत्रबाट विवरण सङ्कलन भइसकेको छैन् ।घटनाका विवरण संकलनको काम भइरहेको छ । प्रहरी टोली घटना स्थलमा पुग्न बाँकी रहेकाले पूर्ण विवरण आइसकेको छैन् ।
पहिरोका कारण सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ, माङसेबुङ गाउँपालिका वडा नम्बर १ पाटी गाउँ, देउमाई नगरपालिका ५, झोर र ढुसेनी, फाकफोकथुम गाउँपालिका वडा ३ रातमाटे, इलाम नगरपालिका वडा नम्बर ५ का बस्तीहरूमा पहिरो गएको प्रहरीले जनाएको छ।यी सबै स्थानहरूमा लगातार वर्षाका कारण पहिरो गएको हो। पहिरोले घरहरू पुरिएको आशंका गरिएको छ ।
पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएका र केही घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको डीएसपी राईले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published.