बिर्तामोड,२९ असार । झापा, बिर्तामोडका पत्रकार रमेश समदर्शी राई सम्मानित भएका छन् ।पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा विशेष योगदान पुर्याएको उल्लेख गर्दै पत्रकार समदर्शी राईसहित चार जना पत्रकार सम्मानित भएका हुन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार विराटनगरमा एक कार्यक्रमका बीच पत्रकार समदर्शीसहित मोरङ र सुनसरीका सञ्चारकर्मीहरू अभयकुमार राई, सुमन सुस्केरा र रमा दाहाललाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
तीन दशकदेखि कार्यरत झापाका क्रियाशील पत्रकार समदर्शी न्यूज सञ्जाल डटकम अनलाइन न्यू पोर्टलका सम्पादक तथा नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष हुन् ।
सोही कार्यक्रममा बोर्डले उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेतलाई जनही ५ हजारदेखि १२ हजार रुपैयाँसम्मको नगद प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश, राष्ट्रियस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो ।
सोहि अवसरमा खेल प्रवद्र्धनका निम्ति उल्लेखनीय सहयोग पुरयाँएको भन्दै उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई नगद जनही रु ११ हजार रुपैयाँसहित सम्मान गरिएको थियो भने पूर्वअन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, सिद्धान्त लोहनी, महेश रिजाल, लवभक्त श्रेष्ठ, जितेन्द्र चौधरी, किरण लामा तामाङलगायतलाई समेत दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) सहितले पुरस्कृत तथा सम्मान गरेका थिए ।