रोजगारसहितको शिक्षामा सरोकारवालाहरुको जोड

-दमकमा विभागीय प्राध्यापकहरुका लागि तालीम शुरु
दमक,१७ असार । शिक्षालाई विश्वसनीय र विश्व बजारमा बिक्ने र टिक्ने गुणस्तरको बनाउन नीतिगत पहलको खाँचो रहेको दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

दमकमा मङ्गलबारदेखि विभागीय प्राध्यापकहरूको लागि छ दिने क्षमता विकास तालिम उद्घाटन कार्यक्रममा उनीहरुले रोजगारसहितको शिक्षा अर्थात कमाउँदै पढ्दै गर्ने किसिमको शिक्षा भए नेपाली बिद्यार्थीहरुको विदेश पलायन रोक्न सकिने साझा धारणा राखे ।
दमक बहुमुखी क्याम्पसको सभाहलमा सञ्चालित सो तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले सामुदायिक क्याम्पसहरूको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आयोगले काम गरिआएको स्पष्ट पारे ।

देशभरका ८४ बढी सामुदायिक क्याम्पसहरू विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेको भन्दै उनले यसलाई रोक्न राज्य तथा सरोकार पक्षहरुको भूमिका महत्वपूर्ण हुने जोड दिए। । नेपालको उच्च शिक्षामा बिद्यार्थीहरुको आकर्षण घट्दै जानुले समग्र मुलुकको अवस्था चिन्ताजनक भएको बुझ्न सकिने भएकाले यसको जड अर्थात कारण पहिचान गरिनुपर्ने उनको भनाई थियो ।
उनले भने,–‘ विश्वविद्यालय अनुदान आयोग केवल पैसा बाँड्ने मात्र निकाय नभएको भन्दै उनले उच्च शिक्षाको शैक्षिक अवस्था सुधार गरि नेपालको शिक्षालाई विश्वभर बेच्न सकिने बनाउन जोड दिदैआएको छ । यसमा सवै पक्षको ध्यान जानु पर्छ । ’

तालिम उद्घाटन समारोहमा बोल्दै विशिष्ट अतिथि समेत रहेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर उठाउन विश्वविद्यालय अनुदान आयोगले पुर्याउँदै आएको सहयोग प्रशंसनीय भएको चर्चा गरे ।
सहजकर्ता समेत रहेका विश्वविद्यालय अनुदाय आयोगका सल्लाहकार प्राडा. हृदयराज बज्राचार्यले विभागीय प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्न यस तालिम अत्यन्तै उपयोगी भएको र यहाँ आर्जन गरेका ज्ञान र सिपलाई व्यवहारमा कार्यान्वयन गर्न सकिए मात्र यसको प्रभावकारी देखिने उल्लेख गरे ।

दमक बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित क्षमता विकास अभिबृद्धि तालिममा पूर्वका १३ वटा सामुदायिक क्याम्पसका ३० बढी विभागीय प्राध्यापकहरूको सहभागिता रहेको छ ।
दमक बहुमुखी क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पब्लिक क्याम्पस संघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष अर्जुन अधिकारी, दमक बहुमुखी क्याम्पसका सञ्चालक समितिका पूर्व अध्यक्ष सुरेश सुब्बा, सदस्य अम्बिका खनाल लगायतले सञ्चालित तालिमको उपयोगिताका विषयमा चर्चा गरेका थिए ।
दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरीले स्वागत राखेका थिए भने सञ्चालन प्राध्यापक डिल्लीप्रसाद भट्टराईले गरेका थिए।

Leave a Reply

Your email address will not be published.