दमक ,१६ जेठ । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले यसवर्ष पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने भएको छ । फलफूलमा आत्मनिर्भर बनाउन लक्ष्यका साथ पार्टीले गतवर्षदेखि शुरु गरेको वृक्षरोपण कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको पार्टी दमक नगर कमिटी अध्यक्ष रवि वस्नेतले बताए ।
उनका अनुसार भोलि दमकको हंसेदुम्से सामुदायिक बन क्षेत्रमा वृक्षरोपणको औपचारिक शुरुवात गरिने छ । वृक्षरोपण दमकका १० वटै वडा भित्र दुई महिनासम्म चल्ने उनले जनाएका छन् । उनले वृक्षरोपण सफल बनाउन नगरका सवै राजनीतिक दल, संघसंस्थाहरुलाई पत्राचार गरिएको बताए । वृक्षरोपणमा १० वटा कोदालोसहित सहभागि भईदिन संस्थागत रुपमा निम्तो दिईएको उनको भनाई छ ।
गतवर्ष ५० हजार फलफूलको विरुवा रोपिएका र यसवर्ष २५ हजार थप विरुवा रोपिने तयारी गरिएको अध्यक्ष बस्नेतले उल्लेख गरे । पार्टीले यसवर्ष ‘क्लिन दमक,ग्रीन दमक ’भन्ने सन्देसका साथ वृक्षरोपणलाई निरन्तरता दिईएको पार्टी इन्चार्ज वेदु गौतमले बताए ।
बृक्षरोपण कार्यक्रमका विषयमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य रन्जित तामाङ, झापा जिल्ला संयोजक राजु आचार्य -अग्नी लगायतले वृक्षरोपणको महत्वका विषयमा चर्चा गरेका थिए । उनीहरुले वृक्षरोपण कार्यक्रम पार्टीको मात्र नभएर यो समाजकै अभियान भएको जिकीर गरे ।
यसैगरि, पार्टीले वृक्षरोपण कार्यक्रमलाई सफल बनाउन स्थानीय व्यवस्थापन , रुद्र कार्कीको संयोजकत्वमा विपत रेपिड फोर्स गठन गरिएको सचिव डम्बर बोहोराले बताए ।