दमक ,१५ जेठ । भलिवल खेलको पहिचान उजागर गर्न झापाको कमल गाउँपालिका -५ मंगलवारेस्थित सगुन युवा क्लवले मंगलवारे चौंकमा भलिवल खेलाडीको प्रतिमा(स्तम्भ )सहित पार्क निर्माण गरेको छ ।
१८ औं गणतन्त्र दिवसका अवसरमा आज एक कार्यक्रमका बीच नवनिर्मित प्रतिमा(स्तम्भ )को गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अनावरण गरे ।
क्लवले आफना शुभेच्छुक स्वदेश तथा विदेशमा बस्दैआएका विभिन्न सहयोगी व्यक्ति,संस्थाहरुबाट सहयोग जुटाएर करिव ५ लाख मूल्य बराबरको लागतमा पूर्णकदको प्रतिमा निर्माण गरिएको अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए ।
क्लवले लामोसमयदेखि त्यहाँ भलिवल प्रतियोगिता सञ्चालन गरिआएको र मंगलवारेको थप पहिचान दिलाउन उद्देश्यले भलिवल खेलाडीको प्रतिमा निर्माण गरिएको उनले जानकारी दिए । देशमै भलिवलको यस किसिमको स्तम्भ पहिलो भएको क्लवले दावी गरेको छ ।
उनका अनुसार अमुख भलिवल खेलाडीको प्रतिमा, प्रतिमाको स्टेन लाईट, डिभाईडरको फलामे घेराबारा, ट्राफिक स्टेण्ड, बिरुवाको ब्लकमा रङ्ग रोगन, इन्टर लग टालीसहितको पार्कको समेत औपचारिक रुपमा अनावरण गरिएको हो ।
प्रतिमासहितको सगुन पार्कको उद्घाटनका क्रममा अध्यक्ष राईले यस प्रतिमाले भलिवल खेलाडी तथा खेलकुद प्रतिको लगाव अझ बढउने विश्वास व्यक्त गरे । कार्यक्रममा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले देशको राष्ट्रिय खेलका रुपमा रहेको भलिवललाई चिनाउन क्लवले प्रंशननीय कार्य गरेको उल्लेख गरिन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सभापति केदार चापागाईं, मंगलमय टोल बिकास संस्थाका अध्यक्ष गणेश प्रधान,शान्त जीवन प्रतिष्ठान,पूर्णिमा महिला समूह, सगुन वाल क्लव, हाम्रो भरोसा महिला समूह, स्थानीय आमा समूहलगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।
सोहि अवसरमा क्लवले पाडाजुंगी देखि मंगलवारेसडक खण्डको डिभाइडरमा रोपिएका बोटविरुवाको गोडमेल गर्नुका साथै बजार सरसफाइ समेत गरिएको थियो। क्लवले त्यस सडकको डिभाईडरमा रोपिएका विरुवाको संरक्षण गर्न तथा वजार स्वच्छ, हराभरा बनाउन यस किसिमका जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिदैआएको सचिव रोशन दाहालले बताए ।