फरार ट्रक चालक लिम्बू पक्राउ

दमक,२८ बैशाख । दमकमा स्कुटरलाई ठक्कर दिई फरार भएका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ठक्कर दिने ट्रक चालक इलाम सन्दकपुर गाउँपालिका वडा न. ३ बस्ने २५ वर्षीय रोशन केरुङ लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि चालक लिम्बू गाडी छाडेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ट्रक चालक लिम्बूलाई बिर्तामोड -५ माता मन्दिरबाट आज बिहान ९ः५५ बजे नियन्त्रणमा लिएको बताए ।

गएराति १०.१५ बजे दमक १ रबि स्टेन्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका वडा न.–०५ पापेथोक बस्ने २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमा नै मृत्यु भएको थियो । लिम्बू दमक थकाली किचन घरका स्टाफ हुन् ।

स्कुटरको पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.–४ बस्ने ४२ वर्षीया सिर्जना राई गम्भीर घाइते भएकी छन् । घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनले लिम्बूमाथि सवारी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published.