पथरीमा दोस्रो नगर खेलकुद महोत्सव शुरु

पथरी शनिश्चरे, २० बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा आजदेखि दोस्रो नगर खेलकुद महोत्सव -२०८२ शुरु भएको छ।पथरी शनिश्चरे वडा नं १ जाँते रोडस्थित प्रस्तावित रङ्गशालामा महोत्सवको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरे ।

नगर प्रमुख तुम्वापोले अम्पायरलाई बल दिएर खेलको औपचारिक शुभारम्भ गरेका थिए । उद्घाटनका क्रममा नगर प्रमुख तुम्वापोले स्थानीय खेलाडीहरूको उत्पादन र क्षमता वृद्धि गर्ने उद्देश्यले यो खेलकुदलाई विशेष महत्वका साथ नगरपालिकाले हरेक वर्ष नयाँ नयाँ खेलकुदका प्रतियोगिताहरुलाई समेट्ने प्रयास गरेको जोड दिए।
नगर खेलकुद महोत्सवका संयोजक दीपक राईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहका क्रममा उक्त नगर खेलकुद महोत्सव आगामी बैशाख ३० गते सम्म सञ्चालन हुने नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले बताए।

खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडीको उत्पादन हाम्रो अभियान भन्ने प्रमुख नारासहित आयोजना भइरहेको उक्त खेलकुद महोत्सव अन्तर्गत पुरुष तथा महिला वडा क्लबस्तरीय फुटबल तथा भलिबल,क्लब स्तरीय क्रिकेट, खुल्ला स्तरीय कराँते, बुद्धिचाल , महिला तथा पुरुष म्याराथुन, भारोत्तोलन, पौडी जस्ता विभिन्न प्रतियोगिताहरु सञ्चालन हुने नगर खेलकुद विकास समितिका संयोजक राईले बताए ।

आज सम्पन्न प्रतिस्प्रधात्मक तथा सनसनीपूर्ण उद्घाटन खेलमा नाजरिन एफसीले न्यू स्टार एफ सी कीर्तिपुरलाई ट्राईबेकरमा ४(२ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो। आजको खेलको म्यान अफ दि म्याच नाजरिङ एफसीका क्याप्टेन बादल लिम्बु घोषित भएका थिए। उक्त अवसरमा नगरपालिकाकी उपमेयर देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, तथा वडा नम्बर ८ का वडाध्यक्ष नवीन कार्की , वडाध्यक्षहरू भीमकुमार राई, जीवन कुमार खतिवडा, नैना राई, उद्धव बस्नेत, अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमाल तथा मोरङ अध्यक्ष सञ्जीव बुढाथोकी, वरिष्ठ लोक गायक महेश बुढाथोकी, नेपाल शिक्षक महासङ्घ पथरिशनिश्चरे अध्यक्ष अर्जुन बुढाथोकी, लगायतका नगरपालिकाका कार्य पालिका सदस्य तथा जनप्रतिनिधि, नगरका विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

उक्त खेलकुद महोत्सवको फुटबल (पुरूष ) तर्फ प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेतालाई क्रमशः १ लाख र ५० हजार रूपैयाँ नगद सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने प्रत्येक म्याचमा दुई हजारका दरले ुम्यान अफ द म्याचु घोषित खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। गोल्डेन बल, गोल्डेन बुट र गोल्ब्स विधाहरूका विजयी खेलाडीहरूलाई ५ हजार रूपैयाँका दरले पुरस्कृत गरिनेछ। यसैगरी, महिला फुटबल तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई १५ र ७ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ।

यसैगरी ,भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले प्रस्तुत गरिनेछ। बेष्ट स्पाईक, बेष्ट ब्लकर, बेष्ट प्लेयर , बेष्ट लिब्रो, बेष्ट सेटर लगायतका विभिन्न विधाहरुमा विजयी खेलाडीहरूलाई ३,हजार का दरले नगदसहित ट्रफी प्रदान गरिनेछ भने म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद २ हजार रूपैयाँ प्रदान गरिनेछ। यसैगरी, क्रिकेट तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई ३५ हजार र २० हजार नगद सहित ट्रफी प्रदान गरिने  युवा तथा खेलकुद शाखाका अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले बताए।

म्याराथन प्रतियोगिताका पुरुष तथा महिला दुवै प्रथम , द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई जनही ७ हजार , ५ हजार, ३ हजार र २ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने कराँते तर्फ प्रथम पुरुष खेलाडीलाई ५ हजार र महिलातर्फ ५ हजारले प्रदान गरिने आयोजक समितिले जनाएको छ। यसैगरी, बुद्धिचाल प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैठौँ र सातौँ स्थान हासिल गर्ने विजयी खेलाडीलाई क्रमशः १० हजार, ६ हजार, ४५ सय , ३५ सय र २५ सयका दरले पुरस्कृत गरिने  जानकारी दिइयो। उक्त प्रतियोगितामा अनुमानित १४ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.