झापा, ४ चैत । नेपाली कांग्रेस झापाले स्ववियु निर्वाचनमा नेविसंघको क्याम्पस ईकाई समितिले गरेको निर्णयनै आधिकारिक हुने स्पष्ट पारेको छ ।नेपाली कांग्रेस झापाले स्ववियु निर्वाचनका लागी उम्मेद्वार चयन गर्न गठन गरेको समन्वय एवं सहजीकरण समितिका संयोजक तथा पार्टी जिल्ला उपसभापति केशबराज पाण्डेले आज एक अपिल जारी गर्दै नेविसंघको आधिकारिक उम्मेद्वारको बिबाद भएमा नेविसंघको ईकाई समितिले गरेको निर्णयनै आधिकारिक हुने स्पष्ट पारेका छन् ।
कांग्रेस झापाले जिल्लामा रहेका क्याम्पसहरुको स्ववियू निर्वाचन समन्वय एवं सहजीकरण गर्न जिल्ला स्तरिय समन्वय समिति गठन गरेको थियो । गत फागुन १६ गते पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभापति उद्धव थापा, जिल्ला सभापति देउकुमार थेवेसहित पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ नगर सभापतिको संयुक्त वैठकले स्ववियू निर्वाचनका लागि सवै क्याम्पसहरुमा समन्वय एवं सहजीकरण गर्न समिति गठन गरेको थियो ।
समन्वय एवं सहजीकरण गर्न समितिले सम्बन्धित क्याम्पसको नेविसंघ ईकाई समितिसंगको समन्वयमा उम्मेद्वार तय गर्ने निर्णय उक्त वैठकले गरेको थियो । सोही निर्णय वमोजिम झापाका अधिकांश क्याम्पसहरुमा स्ववियू निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरिसकिएको छ । दमक बहुमुखी क्याम्पसमा भने केही समस्या देखिए पनि नेविसंघ क्याम्पस इकाइ समितिको सिफारिसमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारनै आधिकारिक भएको त्यही उम्मेदवारलाई जिताउन संयोजक पाण्डेले अनुरोध गरेका छन् ।