दमक,७ फागुन । ७५ औंं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर दमकमा आज साँझ दीपप्रज्जवलन गरिएको छ । नेपाल विद्यार्थी संघ दमक नगर, नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस तथा नेपाल विद्यार्थी संघ कमल गाउँपालिकाको संयुक्त आयोजनामा दमकको गणतन्त्र चौंकमा दीपप्रज्जवलन गरिएको हो ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको दीपप्रज्जवलन कार्यक्रममा कांग्रेस झापा ५ (ख) का सभापति रवि केसी ,दमक नगर उपसभापति सागर खनाल,नेविसंघ झापाका सचिव जितेन साम्पाङ, नेविसंघ दमक नगर सभापति विशाल अधिकारी लगायतले प्रजातन्त्र दिवसको महत्वका बारेमा चर्चा गरेका थिए । उनीहरुले जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको बिगुल फुकेको आजको दिन सबै नेपालीका लागि गौरवपूर्ण र ऐतिहासिक भएको जोड दिएका थिए ।
दीपप्रज्जवलन कार्यक्रममा कांग्रेस क्षेत्र, प्रदेश,जिल्ला तथा नगर समितिका पदाधिकारी, सदस्यहरु साथै नेविसंघका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सभापति सुनिल हाताछुले गरेका थिए ।