झापा,२७ माघ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा दमककी नेतृ लीला ढुंगेल दाहाल चुनिएकी छन् ।अनेम संघ झापाको दशौं जिल्ला सम्मेलन अन्तर्गत आइतवार भएको उम्मेदवार मनोनयनका क्रममा ढुंगेलको मात्र मनोनयन दर्ता भएपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी ‘रेणुका’, सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं (कोपिला ), सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित भएकी गठित निर्वाचन समितिका संयोजक हेमकला कट्टेलले जानकारी दिइन् ।
उनका अनुसार सदस्य पदमा विभिन्न क्लस्टरबाट ७५ जना चयन गरिनेछ । निर्वाचित कमिटीको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालय विर्तामोडमा गरिनेछ र सोही दिन शपथ ग्रहण ,निर्वाचित प्रमाणपत्र समेत वितरण गरिने जनाईएको छ ।
विर्तामोडमा दशौं जिल्ला सम्मेलनको शनिवार केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले उद्घाटन गरेकी थिइन् ।
पूर्व अध्यक्षहरु सम्मानित
अनेमसंघ झापाको १० औं जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । बिर्तामोडस्थित अग्रसेन भवनमा सुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा टिका बस्नेत, जसमाया गजमेर, पवित्रा निरौला खरेल, मेनुका काफ्ले,शोभा कुँवर, शारदा सापकोटा, विष्णु बराल, सिता बस्नेत, सुमित्रा भण्डारी रहेकी छन् । महिला मुक्ति आन्दोलनलाई अनेमसंघको माध्यमबाट यहाँसम्म ल्याउन गरेको योगदानलाई उच्च मूल्याङकन गर्दै सम्मान गरिएको अनेमसंघले जनाएको छ ।