मौलिकतासहितको शिक्षा प्रणाली हुनुपर्छ : संयोजक पुरी

सुरुङ्गा ,२६ माघ । शिक्षामा क्रान्ति अभियानका केन्द्रीय संयोजक रेवतराज पुरी (गगन) ले नेपालको मौलिकताको आधारमा शिक्षा प्रणाली हुनु पर्ने जोड दिएका छन् ।
सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसमा शनिवार सरोकार पक्षहरुको जिल्ला भेलामा अभियानको विषयमा स्पष्ट पार्दे पुरीले देशको शैक्षिक अवस्था अपेक्षाकृत सुधार हुनु नसक्नु समग्र शिक्षा प्रणाली उपयुक्त नभएको जिकीर गरे । पाठ्यक्रमले समाजवाद नदेखे देशमा समाजबाट नआउने बताउँदै पुरीले शिक्षाको पाठ्यक्रम बदल्न सकेमात्र देशको शैक्षिक विकास संभव भएको धारणा राखे ।
‘१८ औं शताब्दीको पाठ्यक्रमले २१ औं शताब्दीको चेतनाको नेतृत्व गर्न सक्दैन’ संयोजक पुरीले भने ‘शिक्षामा क्रान्तिको मुख्य उद्देश्य शिक्षाको उद्देश्य, रणनीति र लक्ष्य बदल्नु पर्छ भन्ने हो ।’
उनले अनुत्पादक , अब्यवहारिक, केवल सैद्धान्तिक शिक्षा अव नचाहिने भन्दै उनले बैज्ञानिक, उत्पादनमूलक , खोजमुलक, सिर्जनशील, आत्मनिर्भर, सीपमूलक शिक्षा प्रणालीको आवश्यक रहेको बताएका छन् । हालको पाठ्यक्रम खारेज गर्नु पर्ने बताउँदै उनले खारेज नगरेसम्म देशको शिक्षा नीति असफल हुने धारणा ब्यक्त गरे । ‘हालको नेपालको शिक्षा प्रणाली विदेशीको प्रयोगशाला बनेको छ’ संयोजक पुरीले भने –‘ नेपालको मौलिकताका आधारमा प्रबिधि, जल, कृषि र पर्यटनमैत्री शिक्षा प्रणाली हुन आवश्यक छ ।’ दमक ८ निवासी पुरी दमककै सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
अभियान पार्टी विशेषको होइन
शिक्षामा क्रान्ति अभियान कुनैपनि राजनीतिक पार्टीको नभएको स्पष्ट पार्दै शिक्षाप्रेमीहरुको भएकाले सवैलाई जोडिनसमेत उनले आग्रह गरे । शिक्षामा क्रान्ति अभियानले देशका ७७ वटै जिल्लामा अभियान चलाउँदै संगठित भएर राज्यलाई दबाब दिने उनको धारणा छ । पुरीले जुनसुकै पार्टीबाट सरकारमा गएपनि पाठ्यक्रम बदल्नु पर्ने अभियानको माग रहने बताएका छन् ।
क्रान्ति अभियानद्धारा झापामा कमिटी गठन
‘देश बदल्न शिक्षा बदल्नु पर्छ’ भन्ने मूल नाराका साथ झापामा पहिलो पटक शिक्षामा क्रान्ति अभियानले जिल्ला कमिटी गठन गरेको छ । ‘शिक्षामा क्रान्ति’ का बिषयमा आफ्नो धारणासहित शैक्षिक बहस प्रस्तुत गर्दै आएका पुरी शिक्षामा क्रान्ति अभियानका केन्द्रीय संयोजक हुन् ।
भेलाले सन्तोष राईको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । समितिको सचिवमा सरस्वती चम्लागाई रहेकी छिन् । कमल- ७ निवासी संयोजक राई स्थानीय सिंहदेवी आधारभूत विद्यालय,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
गठित कमिटीको जिल्लाका १५ वटै पालिकाबाट बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति, अभिभावकको प्रतिनिधित्व हुने गरी नेतृत्व चयन गरिएको छ ।नवगठित अभियान कमिटीलाई शिक्षामा क्रान्ति अभियानका संयोजक पुरी, कनकाई क्याम्पस प्रमुख बिकास उप्रेती लगायतले लक्ष्य प्राप्तिका लागि झापाबाट शुरु भएको यस अभियान सफल भएर छाड्ने उदघोष गरेका थिए ।

शिक्षामा क्रान्ति अभियान गठित जिल्ला समितका अध्यक्ष राई र सचिव चम्लागाई

Leave a Reply

Your email address will not be published.