उर्लावारी, १ माघ । मोरङको मिक्लाजुङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मत्यु हुनेमा मिक्लाजुङ– ३ का ३४ वर्षीय प्रदिप राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सोमबारराति ९.३० बजे मिक्लाजुङ– ३ अधिकारी चोकस्थित भित्री सडकमा रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्र।१–०४–००१प ३६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उछिट्टिएर बाटोको नालीमा दुर्घटना भएको थियो । दुर्घटनामा गंभीर घाईते भएका राईलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पठाएकोमा उपचारका क्रममा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार दुर्घटनामा न्यायाधीशसहित दुई घाइते
सुनसरीको बराहक्षेत्रमा न्यायाधीश सवार कार दुर्घटनामा परेर उनीसहित दुई जना घाईते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा आज साँझ ५ः१० बजेतिर काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको सरकारी कार दुर्घटना हुँदा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय नारायणप्रसाद रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् ।घाईते न्यायाधीश रेग्मी उच्च अदालत पाटनका हुन् ।
पारिवारिक स्रोतका अनुसार खनाल न्यायाधीश रेग्मीका भिनाजु हुन्। दुर्घटनामा परेर घाइते दुवैको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रेग्मीको अवस्था मध्यम र खनालको गम्भीर रहेको जानकारी अस्पतालले दिएको छ। कारमा न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कारमा सवार न्यायाधीश रेग्मीका छोरा २७ वर्षीय निश्चल रेग्मी र छोरी २० वर्षीया भूमिका रेग्मी एवं चालक भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजा सकुशल छन्। चालक खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।