शिवसताक्षी,१३ पुस । झापा,शिवसताक्षी -८ का लम्जेल परिवारले पितृको स्मृतिमा स्थानीय सामुदायिक विद्यालयमा अक्षयकोष राख्ने घोषणा गरेका छन् । शुक्रबार अरुणोदय आधारभूत विद्यालयको हातामै पुगेर लम्जेल परिवारका सदस्यले दिवंगत बुबा चन्द्रबहादुर लम्जेलको सम्झनामा १ लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । लम्जेलको दुई साता अघि उच्च रक्तचापका कारण निधन भएको थियो। बुबाको सम्झनामा पन्ध्रौँ दिनको पुण्यतिथिको अवसर पारेर विद्यालयको सर्वाङ्गिण विकासमा सहयोग पुरयाँउन आफूहरुले अक्षय कोष स्थापना गर्न लागिएको छोरा खगेन्द्र लम्जेलले बताए । खगेन्द्र सोहि विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुन् ।
उनका अनुसार सहकारी लगायतका सामाजिक संस्थामा आवद्ध भएका र मृत्युवापत प्राप्त भएको रकमलाई बुबाको स्मृतिमा कोष स्थापना गर्न लागिएको हो ।
सोहि अवसरमा लम्जेल परिवारले सो विद्यालयका अति विपन्न १५ जना विद्यार्थीलाई जाडोमा लगाउने स्विटरसमेत प्रदान गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन, विद्यालयका प्रधानाध्यापक तारा लावती, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
बुवाको स्मृतिमा खेल मैदान निर्माण शुरु
मोरङ, उर्लाबारी–९ थक्लुङ चोकका चन्द्र छाराहाङले आफ्ना बुवाको स्मृतिमा एक बिघा पाँच कट्ठा जग्गा निःशुल्क उपलव्ध गराएपछि अहिले खेल मैदान निर्माण गर्न थालिएको छ ।
छाराहाङले स्वर्गीय बुवा हस्तबहादुरको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान दिएका हुन् । दान दिएको जग्गामा हस्तबहादुर छाराहाङ (आठपहरिया) स्मृति प्रतिष्ठान एवम् स्मारक खेल मैदान संरक्षण तथा सम्वद्र्धन समितिले खेल मैदान बनाउन थालेको छ ।
जग्गा प्राप्त भएपछि खेलमैदान बनाउन स्थानीयले जनश्रमदान समेत गर्न थालेका छन् । खेलमैदान निर्माणका लागि स्थानीय अमृत थक्लुङको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।
खेलमैदान निर्माण समितिको उपाध्यक्षमा शान्ति राई, सचिवमा गजेन्द्र राई, सहसचिवमा पूर्णबहादुर दाहाल ,कोषाध्यक्षमा चित्रकला खवास र सदस्यहरूमा योगेस प्याकुरेल, ओम दर्लामी मगर, लोकेन्द्रबहादुर लिम्बू र कोपिला राई रहेका छन् ।
खेलमैदान बनाउन स्वदेश तथा विदेशबाट समेत आवश्यक जुट्दै आएको हस्तबहादुर छाराहाङ स्मृति प्रतिष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वध्र्दन समितिका सचिव गजेन्द्र राईले बताए ।
‘‘खेलमैदान नहुँदा वडाका खेलाडीले टाढा गएर अभ्यास गरिरहेका थिए । यहाँ ठुला ठुला खेल प्रतियोगिता गरेर गाउँको चिनारी बढाउने उद्देश्यले खेलमैदान निर्माण गर्न लागेका हौँ,’’ अध्यक्ष लिम्बूले बताए ।