विराटनगर,२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरुले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्ने जोड दिएका छन् । मोरङको विराटनगरमा राष्ट्रिय समाचार समिति (रासस) ले आज आयोजना गरेको कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि तीन दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यका आधारमा पत्रकारहरुले राष्ट्रको पहरेदारी गर्नु पर्ने बताए । उनले भने – ’अहिले नो नट अगेनका नाममा अनावश्यक रुपमा भ्रम फैलाउने काम भइरहेको छ, यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्छ ।’
उनले नो नट अगेनहरुले गरेका गतिविधिहरुबाट समाज छर्लङ्गै भएको बताउँदै यस्ता गतिविधिको निगरानी गर्दै पत्रकारहरुले जागरुकता पैदा गर्नु पर्नेमा जोड दिए । केही भएकै छैन भाष्य सृजना गरेर अराजकता फैलाउनेहरुका विरुद्ध लाग्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए। राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्धराज राईले राष्ट्रिय समाचार समितिले गरिरहेको कामका बारेमा जानकारी दिए । सो अवसरमा राससका अध्यक्ष झाले लेखेको मैथिली भाषाको पुस्तक ’मिथिला मिथक’ पनि विमोचन गरिएको थियो ।
प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको तालीममा दुई दर्जन बढी समाचारदाताहरुको सहभागिता छ । तालीमको पहिलो दिन राससका कार्यकारी अध्यक्ष झा, महाप्रवन्धक राई, प्रधानसम्पादक उत्तम सिलवाल, आलेख विचार प्रमुख कृष्ण अधिकारी, बा्ेर्ड सदस्य डिल्लीराम भटटराईले राससको महत्व, समाचारदाताको भूमिका ,आलेख लेखन कलाका विषयमा सहजीकरण गरेका थिए ।