झापा, २७ असोज । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगर – ७ इटाभट्टामा एक जना बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा, धुलावारीका ४५ बर्षिय डिकेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ७.३० बजेतिर मेचीनगर– ७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने मेचिनगर ६ बस्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बू सवार प्र. ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा ७.४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।