झापा , १९असोज । कोशी प्रदेशका छुट्टाछुट्टै तीन जिल्लामा एक युवतीसहित तीन जनाको शव फेला परेको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार झापा, पाँचथर र धनकुटामा गरि युवतीसहित तीन जनाको शव फेला परेको हो ।
जिल्लाको पाँचथर कुम्मायक –३ स्थित तमोर नदीको बगरमा सडेगलेको अवस्थामा महिलाको शव फेला परेको छ ।
शुक्रवार बिहान अन्दाजी ८ बजे कुम्मायक–३ बरुणजेस्थित तमोर नदीको बगरमा टाउकोमा कपाल नभएको, हातको औलामा नङ पोलिस लगाएको ,सडेगलेको अवस्थामा महिलाको शव फेला परेको हो ।
यसैगरि, मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ ।
शुक्रवार दिउँसो २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव आइतवार बिहान ३.३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामाले बताए । उनले भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिए ।
भारतीय प्रहरीसंग समन्वय गरी शुक्रवारदेखि उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरि, धनकुटाको खोकु– हिले भित्री सडकखण्डमा एक युवकको शंकास्पद मृत्यु भएको छ । शनिवार राति अन्दाजी १ बजेको समयमा धनकुटा सहिदभूमि गाउँपालिका –४ खोकु नस्पति चोकस्थित खोकु– हिले भित्री सडकखण्डमा सहिदभूमि– ४ बस्ने २७ वर्षीय लुरे भनिने ताइजन विकको शंकास्पद मृत्यु भएको हो ।
सडकको साइडमा टाउकोमा चोट लागेर विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी शुक्रवार दिउँसो ३ बजे घरबाट धरान जान भनी हिडेका थिए ।