दमकमा गायक शिशिर योगीको एकल साँझ हुदै

दमक,८ असोज । दमकमा यहि असोज ११ गते चर्चित गायक शिशिर योगीको एकल साँझ हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ दमक नगर कमिटीको आयोजनामा हुने एकल साँझको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
कार्यक्रम दमक-८ स्थित कस्मिक पाटी प्यालेसमा हुने छ । गायक तथा संगीतकार योगीको एकल साँझको पूर्व तयारीबारे आज दमकमा पत्रकार सम्मेलन गरि आयोजकले त्यस्तो जानकारी दिएको हो ।
आयोजक कमिटीका अध्यक्ष रमेश लुइँटेलले व्यवसायीहरुमा रहेका अनेकौं पीडाहरुलाई बिर्साएर सांगीतिक आनन्द दिलाउने प्रयास स्वरुप दशैंको समेत सन्मुख पारेर एकल साँझ आयोजना गरिएको बताए ।
नेकपा एमाले सम्बद्ध उद्योग व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको महासंघले सोहि अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै करिव ३ घण्टा संगीतमय हुने अध्यक्ष लुईटेलले बताए । कार्यक्रम महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्य रहने जनाइएको छ ।
उनका अनुसार सो एकल साँझमा सहभागीहरुलाई शान्त रात्री भोजनको समेत व्यवस्था गरिएको र प्रवेश शुल्क सिंगल (एक)का लागि १ हजार र जोडी (दुई जना)का लागि १ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
पत्रकार सम्मेलनमा व्यवसायी नेता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी लगायतले व्यवसायीहरुले अहिले आर्थिक मन्दीका कारण थुप्रै तनाव भोग्नु परिरहेकाले उनीहरुको तनावलाई कम गर्दै व्यवसायीहरुबीच भावनात्मक एकता बलियो बनाउनका लागि पनि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा व्यवसायी संगठनका नेताहरु रिङकुमार आचार्य, राम रिमाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.