दमक ,७ असोज । तीनदिन अघि धरौटीमा छुटेका यौन हिंसाका आरोपी झापाको कमल गाउँपालिका ३ केर्खास्थित शहिद धर्मभक्त माविका शिक्षक शिवकुमार भट्टराई विद्यालयमा हाजिर भएकोमा कमलका विभिन्न विद्यार्थी संगठनहरुले आफनो गंभीर ध्यानाकषर्ण भन्दै आपत्ति जनाएका छन् ।
नेविसंघसहित समाजवादी विद्यार्थी यूनियन, संघीय विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संघ-संगठनहरुले विवादीत मात्र नभएर अदालतबाट धरौटीमा छुटेका अभियुक्त भट्टराईले आफू विरुद्ध लागेको अभियोगबाट सफाई पाईनसकेको हुदाँ उनलाई विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा हाजिरी गराउने कार्य भएकोमा आपत्ति जनाएका हुन् । शिक्षक भट्टराई विरुद्ध आफनै विद्यालयकी छात्राले यौन हिंसाको जाहेरी दिएकी थिईन् । जाहेरीपछि फरार रहेका भट्टराईलाई पक्राउ गरि अदालतबाट धरौटीमा रिहा भएका थिए ।
सोहि विषयलाई लिएर उनीहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गर्न बाँध्य हुनपरेको नेविसंघ झापाका सचिव जितेन साम्पाङले बताए । विद्यार्थी संगठनहरुले यौन हिंसाका आरोपी शिक्षक भट्टराईको मुद्धा बिचाराधिन हुदाँ हुँदै बिद्यालयमा हाजिर गराउँदा ती पीडित बालिकाहरु माथी झन ‘ह्यारेस्मेन्ट ’ गराइएकाले उनलाई तत्काल निलम्बन गर्न माग गरेका उल्लेख छन् ।
विद्यार्थी सङ्गठनहरुले लगाएको ताला बिना बार्ता, बिना छलफल विद्यालय व्यवस्थापन समितिले प्रहरी लगाएर तोड्ने कार्य भएको प्रति आपत्ति जनाउदै त्यसको हिसावकिताव गराएर छाड्ने समेत चेतावनी दिएका छन् ।
सोहि घटनासंगै विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले छुटाछुटै शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गरेपछि झनै विवाद उत्कर्षमा पुगेको थियो । सोहि विवादले उग्र रुप लिदै गएपछि पछिल्ला समय विद्यालय अशान्त बन्न पुगेको थियो ।