दमक,२७ भदौं । दमक -६ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
स्थानीय कस्मिक पार्टी प्यालेसमा इकाइगत साधारण सभाको माइन्यूट प्रमाणिकरणसहित साधारण सभाको समापनका अवसरमा संस्थाले विभिन्न बिधामा उत्कृष्ट कर्मचारी र एक जना पत्रकारलाई स्वर्णलक्ष्मी साकोस उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको छ ।
समापनका अवसरमा पत्रकार बिष्णु पोखरेलसहित विभिन्न क्षेत्रमा क्रियाशील ७ जना कर्मचारीलाई समेत पुरस्कृत गरेको हो ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित साधारण सभाको समापनमा हिरो अफ द स्वर्णलक्ष्मी पुरस्कारबाट संस्थामा कार्यरत कर्मचारी कविता निरौला, कर्मचारीहरु कुमार घिमिरे, रन्जिता बस्नेत तथा बजार शाखामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी कमल गर्तौला, दीपक क्षेत्री, निर्मल धिमाल, अशोक कटुवाल, निखिल उप्रेती संगीता चौधरीलाई पनि फरक फरक बिधामा पुरस्कृत गरिएको छ ।
संस्थाले बर्षेनी प्रदान गर्दै आएको स्वर्णलक्ष्मी साकोस उत्कृष्ट पत्रकारिता पुरस्कार यसवर्ष गोरखापत्रका झापा संवाददाता पोखरेललाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरि, संस्थाका परिवारबाट एसईइ परीक्षामा उत्कृष्ठ हुने दुई जना विद्यार्थीलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेको थियो ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा आयोजित सो साधारण सभाको समापनका अवसरमा सहभागि बक्ताहरुले सहकारीको माध्यमबाट समाजको सशक्तिकरण, नेतृत्व बिकास तथा मुलुकको अर्थतन्त्रमा २० प्रतिशत योगदान पुगिरहेको तथ्यबारे समग्र मुलुक र मुलुकको नेतृत्वकर्ताहरु अनभिज्ञ नरहेकाले यो अभियान निरन्तर चल्नेमा कुनै शंका नरहेको स्पष्ट पारे ।
सभामा प्रमुख अतिथि पोखरेलले सहकारी अभियान मार्फतनै समाजवादको बाटोमा अघि बढ्न सकिने भएकाले समाजवादलाई आफ्नो लक्ष्य बनाएर अघि बढिरहेका राजनीतिक दलहरु सहकारी अभियानको हित विपरित अघि बढ्न नसक्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
देशभरका करिब दुई दर्जन सहकारी बचत फिर्ता गर्न नसकेका कारण समस्यामा परेको उल्लेख गर्दै थप ९ वटा सहकारी त्यस किसिमको समस्याग्रस्त सहकारीका रुपमा घोषणा हुन लागेका र कानुनी व्यवस्था अनुसार सबै बचतकर्ताहरुले आफ्नो रकम फिर्ता पाउने महासंघ अध्यक्ष पोखरेलको जिकिर छ ।
सो अवसरमा कार्यक्रमकी विशिष्ट अतिथी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले सहकारी अभियान आफैंमा समाजको एक अभिन्न अंग बनिसकेको अवस्थामा यसको संरक्षणका लागि सम्बन्धित संस्था स्वयम जागरुक हुनुपर्ने उल्लेख गरिन् ।
स्थानीय सरकार सहकारी संस्थाहरु र सहकारी अभियानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपप्रमुख भट्टराईको भनाई थियो ।
सो अवसरमा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष चन्द्रा खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा दमक अन्तर्गतका बचतकर्ता सदस्यहरु, संस्थाका कर्मचारी, पत्रकारहरु समेतको उल्लेखिय सहभागिता थियो । सो कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले गरेका थिए ।