झापा , ४ भदौ ।झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। शिवसताक्षी -८ निपत्रिया बस्ने वर्ष ४७ का ओमप्रसाद अधिकारीले आज साँझ ७ वजे घरायसी झगडाका क्रममा एक्कासी खुकुरी प्रहार गरेर २९ बर्षिया श्रीमती रन्जना गौतम अधिकारीको हत्या गरेका हुन् । हतियार प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न ओमप्रकाशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताएका छन् ।
बुबाको हतियार प्रहारबाट छोरा घाइते
त्यस्तै मेचीनगरमा सोमबार साँझ ७ बजेको समयमा बुबाको धारिलो हतियार प्रहारबाट छोरा घाइते भएका छन् ।मेचीनगर नगरपालिका- ३ दोकान डाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले उनकै अन्दाजी ३० वर्षीय छोरा डिल्लीराम दाहाललाई धारिलो हतियार (दाउ ) प्रहार गरेका छन् । खाना खाने विषयलाई लिएर विवाद हुँदा बुबाले छोराको टाउकोको पछाडि भागमा दाउ प्रहार गरेका थिए । उनको स्थानीय मेडिकल दोकान डाँडामा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यता अस्थायी प्रहरी पोस्ट भृकुटीले दाउसहित पुण्यप्रसादलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।