झापा २ भदौ। झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग (ओपिडी )सेवा सञ्चालनमा आएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरे ।
अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताए । “भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उनले भने, “त्यसैले ओपिडी सेवा मात्र सुरु गरेका हौँ ।”
केही सामग्री खरिद गरिए पनि त्यो अपर्याप्त भएको बताउदै उनले पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उल्लेख गरे ।
नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रु दुई करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खड्काले बताए ।