झापा, २ भदौ । गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । हावाहुरीका कारण मानवीय क्षति भने नभएको उनले बताए।
उनका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१(०२३ च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उनको भनाइ छ ।
हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।