कमलका शिक्षक तथा कर्मचारीहरुलाई पार्टीको सदस्यता लिन रोक

दमक,२० साउन । झापाको कमल गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईले आइतवार सूचना निकालेर पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता तथा सदस्यता नविकरण गर्न नपाउने निर्णय गरिएको जनाएका छन् ।
शिक्षा ऐन, २०२८ (संशोधन सहित) १६ (ङ )को उपदफा (५)को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्य कारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनैतिक दल सम्बन्धि ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीहरुले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दे पालिकाले अव त्यसलाई कडाईका साथ कार्यान्वयन गरिने उनले सूचित गरेका छन् ।
नेपाली कांग्रेसको क्रियासिल सदस्यता नविकरण कार्य हाल सञ्चालन भईरहेको र कतिपय शिक्षक तथा कर्मचारीहरुले सदस्यता नविकरण गरेको पाईएपछि पालिकाले त्यस्तो सचेत गराएको उनले स्पष्ट पारेका छन् । उनले पालिकाका शिक्षक वा कर्मचारीहरुले राजनीतिक दलको सदस्यता नविकरण गरेको पाईएमा कडा प्रचलित कानुन अनुसार कारवाही गरिने सूचनामा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.