दमक,१९ साउन । दमक -७ हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले बलजफती गरि आफनो सम्पत्ति हड्प्न खोजेको आरोप लगाएका छन् ।सामाजिक व्यक्तित्व चाम्लिङले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि जिल्ला अदालत झापामा जग्गासम्बन्धी मुद्धा विचाराधीन रहेको अवस्थामा एकाएक सुरक्षाकर्मीहरु ल्याएर धाकधम्कीका साथ जर्वजस्ती बाटो कायम गर्न खोजेकोमा आपत्ति जनाएका हुन् ।
२०६७ सालदेखि आफनो श्रीमती सुनिता राईको नाममा कायम रहेको साविक ६ (ख) कित्ता नम्बर ३४४६० को २ कठठा जग्गामा बाटो भएको भन्दैं नगरपालिकाको न्यायिक समितिले गत जेठ २१ गते एकल फैसला गरेको चाम्लिङको आरोपछ ।
फैसला विरुद्ध नगरपालिकाले पुनरावलोकन गर्ने समय नदिएको बताउदै यसरी राजनीतिक पूर्वाग्रहका आधारमा स्थानीय सरकारले देखाएको यस किसिमको हर्कत स्वभाविक नभएको उनले सुनाए । जनताको जीउधनको सुरक्षा चासो दिनुपर्ने भएपनि उल्टै त्रसित बनाउने कार्य गरिआएको घटनाले आफूहरु असुरक्षित हुनुपरेको उनको गुनासो थियो ।
तीन दिन अघि नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई प्रसाई, वडाअध्यक्ष भीमप्रसाद पौडेलसहित इलाका प्रहरी कार्यालयका डिएसपी निशान थापा,शसस्त्र प्रहरी,नगर प्रहरीको ठुलो संख्यामा आएका टोलीले राईको नम्बरी जमीनमा बाटो खुलाएका थिए । बाटो खुलाउदाँ खोज्दा त्यहाँ दुईपक्षीय विवाद चर्किएर दिनभरि खलबल हुन पुगेको थियो ।
राईले नगरपालिकाको फैसाला विरुद्ध गत जेठ ३० गते जिल्ला अदालत झापामा पुनरावेदन गरेका छन्। राईले न्यायिक समितिको फैसला त्रुटिपूर्ण भएको र सो जमीनमा कुनै पनि सार्वजनिक बाटो नभएको दावी गरेका छन् । आफनो परिवारले खरिद गरेको नम्बरी जग्गामा आफनो हित नचाहने केहि व्यक्तिको उजुरीका आधारमा बाटो रहेको फैसला गरेपनि नक्सामा बाटो समेत नभएकाले सो जमीन आफनो पक्षमा सम्मानित अदालतबाट न्याय पाउने उल्लेख गरेका छन् । सो मुद्धाको साउन २१ गते तारिख तोकिएको उनको भनाई छ ।
यसअघि समेत त्यहाँ नगरपालिकाले नगर प्रहरी र प्रहरीलाई बाटो खोल्न पठाएपनि राई परिवारको अवरोधका कारण बाटो खुलाउन सकेका थिएनन्। राई परिवारले पूर्वाग्रही ंढंगले नगरपालिका आफूविरुद्ध उत्रिएर लोकतन्त्रको खिल्ली उढाएको दावी गरे । दमकमा सार्वजनिक जमीन धेरै ठाउँमा मिचिएको कुरा बाहिर आएपनि त्यसतर्फ नगरपालिकाको चासो त परैजाओस, मान्छेको जमीनमा बाटो कायम गर्न उद्धत हुनु ठिक नभएको उनीद्धारा जारी विज्ञप्तिमा जनाईएकोछ ।